लोकसेवा बिज्ञापनका बिरुद्धमा सिंहदरबार घेर्न गएका आन्दोलनकारीमाथि प्रहरीद्वारा हस्तक्षेप

दियोपोस्ट संवाददाता

काठमाडौं । लोकसेवा आयोगको कर्मचारी भर्ना सम्बन्धि बिज्ञापन असमावेशी भएको भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका १४ जना सहभागी लाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो ।

भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमर्दन कामी लगायतलाई पक्राउ गरेरुभृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका थिए ।

पक्राउ परेकाहरुलाई रिहा गर्न भन्दै नारा जुलुस गर्ने थप पाँच जनलाई प्रहरीले प्रदर्शनी मार्गबाट पक्राउ गरेको छ । उनीहरुलाई पनि नेपाल पुलिस क्लवमा राखिएको छ ।
पक्राउ पर्नेहरुमा नेपाल आदिवासी जनजाति महासंघ कार्याबाहक अध्यक्ष गोबिन्द छन्त्याल, दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, दलमर्दन कामी, सुखवीर थामी, सहेक विश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव, राकेश राई, सि एन थारू, कल्पना सुनार, उस्पार सुनार, थाङ्साङ लावती, वाङ्जु तामाङ लगायत छन् ।

आदिवासी, जनजाति, महिला, दलित र पछाडि पारिएका समुदायले लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिईरहेका छन । उनीहरुले सो विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन ।

सम्बन्धित खबर

सिफारिस