तटबन्ध नबन्दा विराटनगर महानगरपालिका बाढिको उच्च जोखिममा

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन २६ । नदी नियन्त्रण गर्ने तटबन्ध बन्न नसक्दा विराटनगर महानगरपालिका बाढिको उच्च जोखिममा परेको छ । महानगरपालिकाको वडा नम्बर ६, ११, १२, १५ र १६ सबैभन्दा धेरै बाढिको जोखिममा परेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ ।

महानगरको पश्चिमतर्फ रहेको केशल्या र पूर्वतर्फ रहेको सिङ्घीया नदीमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता देखिएको विराटनगर–६ का सत्यजीवन चौधरीले बताउनुभयो । केशल्या नदीको तटबन्धका लागि चार अर्ब २१ करोड ७० लाख ५६ हजार रुपैयाँ र सिङ्घीया नदीको तटबन्धका लागि एक अर्ब २१ करोड १६ लाख रुपैयाँ खर्च लाग्ने जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ ।

केशल्या नदीको केशल्याघाटदेखि सन्ठीयासम्म झण्डै एक किलोमिटरमा निर्माण गरिएको तटबन्धको तारजाली तस्करले काटेर लगेपछि महानगरमा बाढिको जोखिम थप बढेको स्थानीय बासिन्दाले बताएका छन् ।