प्रदेश ३ का मुख्यमन्त्रीको बोली फेरियो, हेटौँडाबासीलाई एउटा कुरा, काठमाडौंबासीलाई अर्कै कुरा

दियो पोस्ट  

हेटौँडा, । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा उनले आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको बताए ।

मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताए । राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने संवैधानिक व्यवस्था भएको र आफू प्रदेशसभा सदस्यको हैसियतले एउटा मतदाता मात्र भएको उनको भनाई थियो ।

यसअघि मुख्यमन्त्री पौडेलले हेटौँडा र काठमाडौंमा राजधानी बन्न नसक्ने बरु नुवाकोट, रसुवातिर लैजान तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

मुख्यमन्त्री पौडेलले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडकको दायाँ–बायाँ १६÷१६ मिटर मात्र भत्काएर सडक विस्तार गरिनुपर्ने धारणा राखे ।

बैकल्पिक मार्गको बोलपत्र आह्वान भइसकेकाले मुख्य बजारलाई चिरेर राजमार्ग बनाउन नहुने उनको भनाई थियो ।