पत्रपत्रिका फ्रन्ट पेजः काँग्रेस र नेकपाले स्कुल फुटाए, धर्म सन्तानको नाममा बालबालिका तस्करी

दियो पोस्ट  

काठमाडौँ, साउन २८ । जुम्लाको हिमा गाउँपालिका–८ रुपाकोट आधारभुत विद्यालय फुटाएर सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल काँग्रेसले दुई छुट्टाछुट्टै भवनमा विद्यार्थीलाई पढाएका छन् । विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका हुन् ।

पार्टी अनुसार दुई भागमा विभाजन भएपछि रुपाकोट आधारभुत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थी अध्ययनका लागि अर्को विद्यालय गएका छन् । नेकपा र काँग्रेसले संचालन गरेको विद्यालयमा कुल १ सय ८६ जना विद्यार्थी पढिरहेका छन् । काँग्रेसले संचालन गरेको विद्यालयमा ९५ र नेकपाले संचालन गरेको विद्यालयमा ९१ जना विद्यार्थी पढिरहेको कुरा मानदत रावतले नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

मंगलबारको कान्तिपुर दैनिकले चिनबाट औषधी ल्याउँदा ४० प्रतिशत छुट शीर्षकको समाचारलाई फ्रन्ट पेजमा प्रकाशन गरेको छ । नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरेऔषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरूले बताएका छन्। मुलुकमा करिब ८० प्रतिशत औषधिको कच्चा पदार्थ भारतबाट आउँछ । नेपालमा बर्सेनि ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरकोे छ ।

त्यस्तै सेनाले अनाधिकृत रुपमा अदालत प्रवेश गरेको विषयलाई पनि कान्तिपुर दैनिकले महत्वका साथ प्रकाशन गरेको छ । ज्यान मारेको अभियोगमा दोषी ठहर भएका महासेनानी बबि खत्री, सहसेनानीहरू अमिल पुन र सुनील अधिकारीमाथिको कारबाही रोक्नका लागि सेनाको कानुन विभाग लागेको छ, कृष्ण ज्ञवालीले समाचार लेखेका छन् ।

त्यस्तंै नागरिक दैनिकले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्नका लागि नेकपाका अर्का नेता वामदेव गौतम विमानस्थल पुग्नुलाई आन्तरिक राजनीतिमा अर्थपुर्ण रुपमा हेरिने विश्लेषण गरेको छ । यसले ओली– गौतम सम्वन्ध सुदृढ भएको संकेत गरेको टपेन्द्र कार्कीले लेखेका छन् ।

बाढीपीडितको व्यथालाई पनि नागरिक दैनिकले पहिलो पृष्ठमा प्रकाशन गरेको छ । पाँच बर्षदेखिका बाढीपीडितहरु त्रिपाल र अस्थायी शिविरमा नै बसिरहेका भएपनि सरकारले कुनैपनि वास्ता नगरेको गुनासो सहितको लेख प्रकाशन गरेको छ ।

अन्नपुर्णपोस्ट दैनिकले धर्मसन्तानको नेपालबाट बालबालिकाको तस्करी भइरहेको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ । आकाश क्षेत्रीले लेखेको समाचारमा नौ बर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिले रहेको उल्लेख गरिएको छ । ती मुलुकले उपलब्ध गराएका तथ्यांक जोड्दा त्यही अवधीमा १ सय ५७ नेपाली बालबालिका धर्मसन्तानका रुपमा लगिएका छन् । यसले धर्म सन्तानका नाममा नेपालबाट बालबालिका तस्करी भइरहेको पुुष्टि हुन्छ ।