–प्रकाश मिश्र/रासस
कैलाली,साउन २८ । केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने क्रम बढेको कैलाली प्रहरीले बताएको छ ।
साउन १२ गते राति कैलालीको गोदावरी नगरपालिका–५, बरबट्टामा छोराले चिर्पटले हानेर बुबाको हत्या गरे । अंशवण्डाको विवादमा ३० वर्षीय रामबहादुर कुमालले चिर्पटले हान्दा ६० वर्षीय बुबा अमरसिंह कुमालको मृत्यु भयो । साउन ६ गते घोडाघोडी नगरपालिका–११ सिसैयाका ५५ वर्षीय उदय राउतले धारिलो हतियार प्रहारबाट आफ्नै बाबुआमाको हत्या गरे । उनले धारिलो हतियार प्रहारबाट ७५ वर्षीय बुबा कल्चे राउत र आमा नन्दा राउतको हत्या गरेका हुन् ।
मादक पदार्थ सेवन गरेर उनले आमाबुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताए । गत मङ्सिर ३१ गते लम्की चुहा नगरपालिकाको बलियामा जहरलाल चौधरीले ६० वर्षीय बुबा पल्टु थारू र ५० वर्षीय काका छनक थारूको हत्या गरे । उनले अंशवण्डामा कुरा नमिल्दा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो ।
गत असोज ६ गते टिकापुर नगरपालिका–कालीमाटीमा बुबाले छोराको हत्या गरेका छन् । त्रियासी वर्षीय पहले लुहारले धारिलो हतियार प्रयोग गरी आफ्नै ५२ वर्षीय छोरा कृते लुहारको हत्या गरे । गत कात्तिक १७ गते गोदावरी नगरपालिका–७ लालपुरकी ३९ वर्षीया हिरादेवी नागरीको उनकै श्रीमान् विजय नागारीले हत्या गरे ।
गत भदौ २९ गते गोदावरी नगरपालिका–१० दमौराकी तुलसी फुलौरा भट्टको उनकै श्रीमान् प्रशान्त भट्टले हत्या गरे । गौरीगङ्गा नगरपालिका–६ की निर्मला साउदलाई उनकै श्रीमान् लालबहादुर साउदले हत्या गरे ।
माया प्रेम, भागबन्डा, मदिरा सेवन तथा रिसको आगेवमा कैलालीमा एक वर्षको अवधिमा आफ्नै जन्मदिने आमा–बुबा तथा श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान्को गरी नौ जनाको हत्या भएको कैलालीका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
यस अवधिमा कर्तव्य ज्यान, बलात्कार, तस्करी र चोरी–डकैतीसम्बन्धी अपराध बढ्दै गएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा जिल्ला प्रहरी कार्यालयमा २० कर्तव्य ज्यानसम्बन्धी, तीन ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र ११६ ले झुन्डिएर आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । यी अपराधका घटना आव २०७४र७५ मा बढेका छन् । यो समयमा १२ कर्तव्य ज्यानसम्बन्धी, ११ ज्यान मार्ने उद्योग, ७३ विष खाएर मृत्यु र १२८ ले झुन्डिएर आत्महत्या गरेका छन् ।
आव २०७५/७६ मा अपराधका घटना अझ बढेको तथ्याङ्कले देखाएको छ । यो अवधिमा १६ कर्तव्य ज्यानसम्बन्धी, ३० ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र १५० ले झुन्डिएर आत्महत्या र आठ जनाले आत्महत्या दुरुत्साहन गरेको कैलाली प्रहरीले जनाएको छ । यसबाहेक आव २०७३/७४ मा १४८, सार्वजजनिक कसुरसम्बन्धी, चार मानवबेचबिखन तथा ओसारपसार, नौ बहुविवाह, ६२ सवारी ज्यानसम्बन्धी घटना भएका छन् ।
आव २०७४र७५ मा २९४ सार्वजजनिक कसुरसम्बन्धी, नौ मानव बेचबिखन तथा ओसारपसार, १७ बहुविवाह, ६४ सवारी ज्यानसम्बन्धीका घटना रहेका छन् । यस्तै आव २०७५÷७६ मा ३६६ सार्वजनिक कसुरसम्बन्धी, १७ मानव बेचबिखन तथा ओसारपसार, २३ बहुविवाह, ६१ सवारी ज्यानसम्बन्धीका घटना रहेको कैलाली प्रहरीले जनाएको छ ।
केही वर्षयता कैलालीमा शृङ्खलाबद्धरूपमा चोरीका घटना बढेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीमा उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि कैलाली प्रहरीलाई चुनौती थपिएको छ ।
प्रदेशको अस्थायी राजधानी धनगढीमा शृङ्खलाबद्ध चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन् । प्रदेश राजधानीमै फितलो सुरक्षा व्यवस्थाका कारण चोरी हुने क्रम बढेको स्थानीयवासीको आरोप छ ।
गत वैशाखदेखि असारसम्म मात्रै कैलालीमा ६० चोरीका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आव २०७३र७४ मा १८ चोरीका घटना घटेकामा चार सवारी चोरी भएकामा आव २०७४÷७५ मा २६ चोरीका घटना घटेका छन् ।
यस्तै आव २०७५/७६ मा ९६ चोरीका घटना घटेकामा सात सवारी चोरीका रहेका छन् । प्रहरी तथ्याङ्कलाई हेर्ने हो भने चोरीका घटना पनि वर्षेनी बढ्दै गइरहेका छन् ।
कैलालीमा बलात्कारका घटना पनि शृङ्खलाबद्धरूपमा बढ्दै गएका छन् । पछिल्लो केही वर्षयता बलात्कारका घटनासम्बन्धी उजुरी बढ्न थालको कैलाली प्रहरीले जनाएको छ ।
पछिल्लो तीन वर्षयता कैलालीमा बुबाबाटै छोरीसम्म बलात्कृत हुन पुगेकी छन् । यो अवधिका सामूहिक बलात्कार र बलात्कारको प्रयासका घटना बढेको कैलाली प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका अनुसार आव २०७३र७४ मा ३० बलात्कार र आठ बलात्कार प्रयासका मुद्दा दर्ता भएकामा आव २०७४र७५ मा ४१ बलात्कार र २५ बलात्कारको प्रयाससम्बन्धी मुद्दा परेका छन् ।
बलात्कारका घटना बढ्दै भइरहेका छन् । आर्थिक वर्ष २०७५र७६ मा ८२ बलात्कार र ३७ बलात्कारको प्रयाससम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका छन् ।
पछिल्लो समय बढिरेका अपराधका घटना न्यूनीकरण गर्न लागुऔषध मुख्य चुनौती रहेको प्रहरीले बताएको छ । यो कुरा पछिल्लो समय लागुऔषध प्रयोग तथा ओसारपसारको अखडा बन्दै जानुले पनि पुष्टि गरेको प्रहरीको दाबी छ । खुला सिमाना र सहज उपलब्धताका कारण दिन प्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।
लागुऔषधकै कारण कैलालीमा जघन्य अपराध भइरहेको छ । लागुऔषध प्रयोगकर्ता नै हत्या, हिंसा, बलात्कार, चोरी–डकैतीजस्ता क्रियाकलापमा संलग्न हुने गरेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।
पछिल्लो समय लागुऔषध प्रयोग तथा ओसारपसारमा महिलाको संग्लग्नता बढ्दै गइरहेको कैलाली प्रहरी प्रमुख गिरीले दाबी गरे । लागुऔषधको दलदलमा फसेका युवतीले नै देहव्यापारदेखि अन्य किसिमका अपराधका घटना बढाउने गरेको उनको भनाइ छ । यसको नियन्त्रणका लागि सुरक्षा रणनीति मजबुत बनाइएको उनको दाबी छ ।
आव २०७४र७५ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका ७१ लागुऔषधसम्बन्धी मुद्दामा १०८ जनालाई प्रक्राउ गरिएकामा आव २०७५र७६ मा दर्ता भएका ८७ मुद्दामा ११७ लाई पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख गिरीले बताए । चालू आव २०७६र७७ को साउन १३ गतेसम्म लागुऔषधसम्बन्धी परेका पाँच मुद्दामा पाँच जनालाई पक्राउ गरेको उनले जानकारी दिए ।