डोटीमा छाउ बार्नेलाई दण्ड, नबार्नेलाई पुरस्कार

डोटीमा छाउ बार्नेलाई दण्ड, नबार्नेलाई पुरस्कार

डोटी । सुदुर पश्चिम र पश्चिमका केही जिल्लामा महिनावारी भएको अवस्थामा छुट्टै घरमा बस्नु पर्ने बाध्यकारी प्रथा अझै पनि बिद्यमान छ । छाउपडी प्रथाका कारण केयौँ महिलाहरुले अकालमा ज्यान गुमाइरहेका बेला डोटीको पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पुरस्कार दिने व्यवस्था गरेको छ ।

गाउँपालिकाले पाँचौं गाउँसभाबाट छाउपडी प्रथा अन्त्य गर्ने उद्देश्यका साथ छाउ नबार्ने महिलालाई पुरस्कार दिने निर्णय गरेको पूर्वीचौकी गाउँपलिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए ।

अध्यक्ष बोगटीले भने, ‘हामीले गाउँपालिकामा छाउ नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार पुरस्कार दिने नीति पारित गरेका छौँ ।’
छाउपडी प्रथा अन्त्य गर्नका लागि सरकारले वर्षेनी बिभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको भएता पनि छाउपडी प्रथा ज्यूँका त्यूँ हुनुले सरकारलाई चुनौती थपिएको थियो ।
‘हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, छाउपडी नबार्ने महिलालाई पुरस्कार स्वरुप पैसा दिनेछौं,’ गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँदले जानकारी दिइन् । सुदूरपश्चिम प्रदेशबाटै छाउपडी प्रथा अन्त्य गर्नु पर्ने बताउँदै निर्मलाले थपिन्, ‘सुरुआत हामी पूर्वीचौकी गाउँपालिकाबाटै गर्छौं ।’

समाजमा रहेको छाउपडीसँग सम्बन्धित धार्मिक विश्वास अन्त्य गर्नका लागि महिला सशक्त हुन पर्ने उनको भनाई छ ।

गाउँपालिकाले छाउपडी नबार्नेलाई पुरस्कार मात्र होइन बार्नेलाई दण्डको पनि व्यवस्था गरेको छ । ‘महिनावारी भएका बेला छाउ बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने सेवा सुविधामा रोक लगाउने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकवहादुर खड्काले बताए ।

छाउ बार्ने परिवारलाई सुरक्षा भत्तालगायतका सेवा सुविधा पनि नदिने निर्णय भएको खड्काले जानकारी दिए । उनले भने, ‘छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि गाउँपालिकाले छाउपडी अन्त्यका लागि कठोर निर्णय गरेको छ ।’

गाउँपालिकाले छाउगोठमा बस्नेको घरमा रातो र नबस्नेको घरमा हरियो झण्डा लगाउने नीति समेत अघि सारेको छ ।

गाउँपालिकाका अध्यक्ष बोगटीले भने, ‘अब हामी प्रत्येक घरमा झण्डा गाड्छौँ, जसले समाजिक रुपमा तिरस्कार जस्तो हुन्छ । नैतिक दबाव पर्छ भन्ने हाम्रो विश्वास छ ।’
कार्यबिधि तयार गरेर तरुन्तै कार्यान्वयन गर्ने तयारी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । उनले भने ‘हामी गाउँपालिकालाई छाउपडी मुक्त बनाउनका प्रयासरत छौं ।’

पूर्वीचौकी गाउँपालिकामा करिब तीन सय छाउगोठ रहेको बताइएको छ । गाउँपालिकाका अध्यक्ष बोगटीले गाउँपालिकाका ७ वडामा तीन सयको हाराहारीमा छाउगोठ रहेको अनुमान गरे ।

गाउँपालिकाले छाउगोठहरुको तथ्याङ्क संकलन गर्ने तयारी गरिहेको समेत अध्यक्ष बोगटीले बताए । उनले भने, ‘अहिले कति गोठ प्रयोगमा छन, के कस्तो अबस्थामा छन भनेर झण्डा गाड्ने बेलामा एकिन तथ्याङ्क संकलन गछौँ ।’

डोटी जिल्लाको सबैभन्दा बढी छाउगोठ रहेको उक्त गाउँपालिकाले अब अभियानको रुपमा छाउपडीबिरुद्ध लाग्ने संकल्प गरेको छ ।

Trending News