काठमाडौं, साउन ३१ । माउण्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणको छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई मध्यरातमै चितवन पुर्याइएको छ ।
बिहीबार अबेर साँझ पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र बिहान पक्राउ परेकी अस्मिता कार्कीलाई बिहीबार मध्यराति जिल्ला प्रहरी कार्यालय चितवन पुर्याइएको हो ।
उनीहरु अहिले जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियोमा आफूलाई रवि, युवराज र अस्मिताले मर्न बाध्य पारेको आरोप लगाएका छन् । उनी साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।