काठमाडौं, ३१ साउन । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिशुली नदी किनारमा बालुवा झिक्न पुगेका एक युवक बेपत्ता भएका छन् । बुधबार बालुवा निकाल्न त्रिशुली नदी अन्तर्गत तिरौँदी पुल नजिक पुगेका २० बर्षीय युवक चन्द्रमणी राईलाई त्रिशुली नदीले बगाएर वेपत्ता पारेको हो ।
इलाका प्रहरी कार्यलय गल्छीका प्रहरी सहायक निरिक्षक जनक वस्नेतका अनुसार बालुवा निकाल्नका लागि त्रिशुली नदीको बिचमा पुगेका र राईलाई पौडी खेल्न पनि नआउने भएका कारण नदीले बगाएको हो । घटनास्थलको मुचुल्का पनि सोही अनुसार उठाइएको प्रहरी सहायक निरिक्षक बस्नेतले दियोपोस्टलाई जानकारी दिए ।
त्रिशुली नदीले बगाएर वेपत्ता भएका राई केशव अधिकारीको स्वामित्व रहेको सक्केस कन्स्ट्रक्सनका लागि काम गर्दै आएका मजदुर हुन् । लामो समयदेखि सक्सेस कन्सट्रक्सनका लागी काम गर्दै आएको भएपनि कम्पनीका संचालक केशव अधिकारीले भने उनको शव खोज्नुको साटो मृतकका दाजुलाई घर पठाएका छन् । ‘त्रिशुली नदीमा उनिहरुले झिकेको बालुवा उचित मुल्यमा किनिदीने मात्र हो’ अधिकारीले दियोपोस्टसंग भने, ‘मेलै नै लगाएको मजदुर चाहीँ होइनन् ।’
स्रोतका अनुसार अधिकारीले पीडितका सुवास राईलाई आर्थिक प्रभावमा पारी पठाइदिएका छन् ।
‘उहाँको मोबाइल स्वीच अफ छ । कुराकानी भएको छैन,’ अधिकारीले भने,‘मैले नै पठाएको हुँ । हिजो जानुभएको हो ।’
कम्पनीका संचालक अधिकारीले आफ्नो नाम जोडिएकै कारण उनको शव खोज्नका लागि आफुले सक्दो सहयोग गरेको बताएका छन् । ‘दश बाह्र जनाको समुहलाई खाना खुवाएर राईको शव खोज्न पठाएको छु ’ उनले भने ।
धादिङ जिल्लाका मजदुरहरु भने त्रिशुलीले बगाएको राईको परिवारलाई क्षतिपुर्ती दिनुपर्ने माग राखेका छन् । उनिहरुले राई सक्सेस कन्सट्रक्सनका लागि काम गर्ने भएपनि कम्पनीका संचालक अधिकारी भने विभिन्न वहानाबाजीमा पन्छन खोजेको आरोप लगाएका छन् । प्रहरीले बनाएको घटनास्थल मुचुल्कामा वडाध्यक्ष राजु अधिकारीले हस्ताक्षर गर्न अस्विकार गरेका छन् ।
‘मजदुरको मृत्यु हुँदा छानबीन हुनुपर्छ । मलाई हस्ताक्षर गर्नुपर्छ भनिएको थियो,’ उनले भने,‘म हस्ताक्षर गर्दिन । मजदुरको ज्यान गएको छ । मजदुरमाथि अन्याय भएको छ ।’
प्रहरीकै शंकास्पद भुमिका
इलाका प्रहरी कार्यलय गल्छीका प्रहरी सहायक निरिक्षक जनक बस्नेतले घटनालाई गुपचुप बनाउन लागि परेको स्रोतको दावि छ । प्रहरीले शव नभेट्दै घटनास्थल मुचुल्का बनाएर पीडितलाई साम्य पारिसकेको पाइएको छ ।
वुधबार राईका परिवार खोटाङबाट धादिङ आइपुगेका थिए । चन्द्रमणी राईका दाइ सुवास राईलाई आर्थिक प्रभावमा पार्दै घटनालाई भित्रभित्रै मिलाउन खोजिएको छ । मंगलबार धादिङ आइपुगेका सुवास राई सहित परिवारका अन्य सदस्यहरुलाई बुधबार रातारात नै खोटाङ फर्काइएको हो ।