‘प्रहरी समायोजन विधेयक २०७६’ सर्वसम्मतिले स्वीकृत

दियो पोस्ट  

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘प्रहरी समायोजन विधेयक –२०७६’ सर्वसम्मतिले स्वीकृत भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री राम बहादुर थापाले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए ।

सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले विधेयक विभेद हटाउने ढङ्गले आएको भन्दै प्रहरीको इच्छाअनुसार समायोजन हुन पाउने व्यवस्था गरिएको बताए ।

‘पति–पत्नीलाई एउटै प्रदेशमा समायोजन गर्ने भनेर विधेयक आएको मन्त्री थापाले जानकारी दिए । सरुवा र बृति विकासको सन्दर्भमा ध्यान पनि दिइएको उनले बताए । गृहमन्त्री थापाले पति–पत्नी प्रहरी भए एउटै प्रदेशमा बस्न पाउने गरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै, उनले एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन सक्ने तर निश्चित तहका प्रहरीलाई मात्रै त्यो व्यवस्था गरिएको पनि उल्लेख गरे । उनले नेपाल प्रहरी भनेको संघीय प्रहरी नै भएको भन्दै त्यसमा नअल्मलीन सुझाव दिए ।

मन्त्री थापाले विधेयकमा बढुवाका सन्दर्भमा पनि विभेद नभएको र ग्रेड थपको व्यवस्था गरिएको भन्दै बढुवाको प्रस्ताव किन नगरेको भन्ने प्रश्नमा संविधान जारी भइसकेपछि तीन पटक बढुवा भइसकेकाले समायोजनका क्रममा बढुवा नगरिएको बताए । ‘बढुवा गरेर समायोजन गर्दा संगठनात्मक रुपमा असन्तुलन हुन्छ । अन्तरविरोध हुन्छ,’ गृहमन्त्री थापाको भनाइ थियो ।