रविसहित तीन जनाको अनुसन्धान सकियो, सरकारी वकिल कार्यलयले मिसील अध्ययन गर्दै

दियो पोस्ट  

काठमाडौँ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि अनुसन्धान सकिए यसलगत्तै आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पेश गरेको छ । १० दिनको अनुसन्धान पछि प्रहरीले बुझाएको राय अध्ययन गरी सरकारी वकिल कार्यालयले उनीहरुमाथि कसुर अनुसार सजाय मागदावी गर्दै जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नेछन् ।

सरकारी वकिल कार्यालयका प्रवक्ता प्रकाश थापाले प्रहरीले बुझाएको मिसिल अध्ययन भइरहेको बताए । प्रक्रिया पुगेको देखिए आइतबार अभियोग पत्र दर्ता हुने उनले जानकारी दिए ।

‘सबै अंग पुगेको भए आज अभियोगपत्र दर्ता हुन्छ,’ उनले भने, ‘अनुसन्धानमा नपुगेको देखिए पुनः प्रहरी कार्यालयमा मिसिल फर्काइन्छ ।’ अभियोग पत्र दर्ता भएपछि अदालतले तीन जनासँग बयान लिन्छ । बयान भइसकेपछि थुनछेक बहस भएर अदालतले थुनामा राख्ने कि छाड्ने भन्ने आदेश दिन्छ ।

पुडासैनीले २० साउनमा चितवनको भरतपुर महानगरपालिका १ स्थित कंगारु होटलमा आत्महत्या गरेका थिए । उनले मोवाइलमा रवि लामिछानेसहित तीन जनाले आत्महत्या गर्न बाध्य बनाएको भन्दै भिडियो बनाएका थिए । सोही भिडियोका आधारमा आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगनमा लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको हो ।