एक दिनमै सुनको भाउमा १२ सयको बृद्धी, प्रतितोला ७२ हजार पाँच सय पुग्यो

दियो पोस्ट  

काठमाडौँ, भदौ ८ । सुनको मुल्यले एक दिनमै १२ सय रुपैयाँले बृद्धी भएर नयाँ रेकर्ड कायम गरेको छ । तीज नजिकँदै गर्दा महिलाहरुले अत्याधिक प्रयोग गर्ने गरगहनाको माग समेत घटेको छ ।

शुक्रबारसम्म ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १२ सयले बढेर ७२ हजार पाँच सय पुगेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने असली चाँदी ८ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको हो । सुनचाँदीको भाउ आकासिन थालेपछि सुनचाँदीको गरगहना किन्ने भन्दा पनि बेच्ने मानिसहरुको संख्या धेरै भएको व्यापारीहरुको गुनासो छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष सुनको माग अत्याधिक मात्राले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।