काठमाडौँ, भदौ ९ । टेलिभिजन पत्रकार रवि लामिछानेले पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन मार्फत या व्यक्तिगत कतैबाट पनि सार्वजनिक रुपमा अभिव्यक्ति दिन नपाउने भएका छन् । सोमबार ५ लाख धरौटी तिरेर जिल्ला अदालत चितवनले रिहा गरेपनि मुद्धा फैसला नभइसकेको हुँदा सार्वजनिक रुपमा यो प्रकरणमा बोल्नका लागि उनलाई बन्देज गरिएको हो ।
जिल्ला अदालत चितवनको न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटी सहित सर्तमा रिहा गरेको हो । रविले सार्वजनिक रुपमा व्यक्तिगत धारणा राख्दा मुद्धा प्रभावित हुने भन्दै अदालतले सर्त राखेको हो ।
घटनामा मुछिएका पत्रकार युवराज कँडेललाई ३ लाख धरौटी तिराइएको छ भने रुकु भनिने अस्मिता कार्कीलाई भने साधरण तारेखमा रिहा गरिएको छ ।