काठमाडौं ९ भदौ : उपत्यकाका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो ।
उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ।
बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ।
उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो । यद्धपी सिफरिस स्विकृत भइसकेको जानकारी प्रशासनले दिएको छैन ।
बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए ।