भदौ मसान्तसम्म लामो दूरीको यातयात र आन्तरिक हवाई उडान स्थगित

दियो पोस्ट  

काठमाडौं, १५ भदौ । मन्त्रिपरिषदले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ ।

यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना संक्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय लिनुपरेको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय उडान भने शर्तसहित कायमै राख्ने सरकारले भनेको छ । कुनै हवाई कम्पनीले कोभिड १९ संक्रमणका लागि पीसीआर टेष्ट, होटल क्वारेन्टाइन सहितको खर्च व्यवस्थापनको जिम्मा लिएमा बाहिरबाट यात्रु ल्याउन सकिने बाटो सरकारले खुला राखेको छ ।


यता मंगलबारदेखि सरकारले अन्तर्राष्ट्रिय उडान भने खुलाएको छ । लामो दूरीको यातयात नखुल्दा विदेशबाट स्वदेश आउने नागरिकलाई सरकारले कसरी घरसम्म पुर्याउँछ त्यो भने बुझ्न सकिएको छैन ।

सम्बन्धित खबर