वन्यजन्तुका आखेटोपहारसहित एक महिला पक्राउ

diyopost.com
दियो पोस्ट  शुक्रबार, साउन २२, २०७८ | १९:२९:०७

काठमाडौं, २२ साउन । संरक्षित वन्यजन्तुका आखेटोपहारसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र नियन्त्रणका लागि खटिएको टोलीले काठमाडौँको नागार्जुन बस्ने ४५ वर्षीया माइली पुतुवारलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गरी बेचबिखन गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा खोजीका लागि गएको टोलीले यहाँस्थित रातमाटेबाट उनलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

उनका अनुसार लुकाइ राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोका सिङ दुई थान र सालकको खपटा पनि बरामद गरिएको छ ।

उनलाई आवश्यक कानूनी कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बुझाइएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।

कसुर प्रमाणित भए उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारवाही हुनेछ । रासस

सम्बन्धित खबर