प्रधानमन्त्री देउवालाई ‘विजिएण्ट्स ग्रुप’द्वारा ११ बुँदे माग पत्र हस्तान्तरण

diyopost.com
दियो पोस्ट  सोमबार, साउन २५, २०७८ | ०:५१:३२

काठमाडौं, २४ साउन । विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालद्वारा प्रवर्द्धित विजिएण्ट्स ग्रुप कम्पनी लिमिटेडले कम्पनीका लागि आवश्यक कच्चा पदार्थ (सुनचाँदी) सहजरुपमा आपूर्तिको व्यवस्था मिलाउन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे माग पत्र हस्तान्तरण गरृेका छन् । सुनचाँदी क्षेत्रका समग्र समस्याहरू समेटिएको माग पत्र कम्पनीका तर्फबाट अर्जुन रसाइलीले हस्तान्तरण गरेका हुन् ।

आईतबार कम्पनीका संरक्षक तथा सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाईली नेतृत्वको एक टोलीले प्रधानमन्त्री देउवालाई भेटी उक्त मागपत्र, बधाई तथा शुभकामना पत्र हस्तान्तरण गरेको कम्पनी महासचिव हेमबहादुर विश्वकर्माले जानकारी दिए ।

नेपालका विभिन्न परम्परागत शीप तथा पेशा अन्तर्गत सुनचाँदी पेशा रहेको छ । सुनचाँदी पेशाको संरक्षण, स्वदेशी कालिगढको उत्पादनमा जोड दिनु यस कम्पनीको उद्देश्य रहेको छ । देशमा रोजगारीको अवसर सिर्जनागरि गहना उत्पादन एवम् विदेश निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य यस कम्पनीले लिएको छ ।

तर, यस कम्पनीलाई हाल नेपालमा सुनको सिफारिश तथा वितरण गर्ने जिम्मा लिएका संघसंस्थाहरूले सुन आपूर्तिका लागि आनाकानी गरेको कम्पनीका संरक्षक अर्जुन रसाईलीले जानकारी दिए । सरकारले कम्पनीका लागि आवश्यक कच्चा पदार्थ (सुनचाँदी)को आपूर्तिको व्यवस्था गरिदिनका लागि टोलीले प्रधानमन्त्रीसंग आग्रह समेत गरेको संरक्षक रसाईलीले बताए । प्रधानमन्त्री देउवाले कम्पनीको माग जाहेज रहेको र कम्पनीको सबै समस्या अवगत भएको भन्दै सकारात्मक प्रतिक्रिया दिनु भएको उनको भनाई छ ।

प्रधानमन्त्रीको सचिवालय बालुवाटारमा भएको भेटघाटमा टोली सदस्यहरू सञ्जालका सहसंयोजक तथा संरक्षक प्रकाश गहतराज, सञ्जालका विशिष्ट सदस्य तथा कम्पनीका संरक्षक टेकबहादुर विश्वकर्मा, सञ्जालका बाग्मती प्रदेश संयोजक रमेश रसाइली, सञ्जालका बाग्मती प्रदेश महासचिव राजन भूजेल विश्वकर्मा, सञ्जालका बाग्मती प्रदेश भेला आयोजक समितिका पूर्व संयोजक रामप्रसाद लकान्द्री, सञ्जालका सदस्य खेम तिरूवा, सञ्जालका सदस्य नीरबहादुर विश्वकर्मा रहेका थिए।

सम्बन्धित खबर