मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र १३, २०७८ | ११:२९:०७

दियोपोस्ट संवाददाता

लमजुङ, १३ भदौ

हिमाली जिल्ला मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । ३१ जेठको भीषण बाढीपहिरोले विभिन्न क्षेत्र क्षतविक्षत भएपछि सरकारी कार्यालयका प्रमुखहरु विभिन्न बहाना बनाएर जिल्ला बाहिरै बसेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले बोलाएको बैठकमा पनि दोस्रो र तेस्रो तहका कर्मचारी तथा सहयोगी उपस्थित हुने गरेका छन् ।प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले विभिन्न मन्त्रालय, घरायसी काम, प्रगति समीक्षा, कार्यालयको काम देखाउँदै कार्यालय प्रमुखहरु जिल्ला बाहिर रहेको जानकारी प्राप्त भएको बताए ।

जिल्ला समन्वय अधिकारी, मालपोत, घरेलु तथा साना उद्योग, निर्वाचन, सिँचाइ, पूर्वाधार विकास, कोष तथा लेखा नियन्त्रकको कार्यालय, विद्युत प्राधिकरण, स्वास्थ्य, अस्पताल, आयुर्वेद कार्यालय प्रमुखविहीन छन् । यस्तै, खानेपानी, शिक्षा इकाई, नापी, डिभिजन वन कार्यालयका प्रमुख पनि जिल्लामा छैनन । मनाङमा २८ सरकारी कार्यालय छन् ।

चामे, मनाङ, ङिस्याङ, नार्पाभूमि र नासों गाउँपालिकाका प्रमुख प्रशासकीय समेत छैनन् । नार्पाभूमिका प्रमुख प्रशासकीय अधिकृत रुक्मांगत उपाध्याय कार्यालयमा उपस्थित नभएपछि उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रशासन कार्यालयले जनाएको छ ।

कारबाहीका लागि उनलाई मन्त्रालय तानिएपछि निमित्तको जिम्मेवारी पाएका दीपेन्द्र पण्डित पनि कार्यालयमा छैनन् ।

मनाङ ङिस्याङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकाल ,चामे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द पनि कार्यालयमा छैनन् । नासों गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीको सरुवा भइसकेको छ । हुलाक कार्यालय कार्यालय सहयोगीको भरमा छ ।

सम्बन्धित खबर