सहकारीको आवरणमा मिटरब्याजको धन्दा : सुरेन्द्र भण्डारी विरुद्ध दर्जनौँ निकायमा उजुरी अलपत्र

diyopost.com
दियो पोस्ट  मंगलबार, भाद्र १५, २०७८ | १०:५१:३४

काठमाडौं, १४ भदौ । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्याकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारीको आवरणमा गरेको अर्बौंको ठगीधन्दामा राज्यका सबै निकायले रहस्यमयी मौनता देखाएको छ ।


मिटरब्याज शैलीमा ब्याज असुली गर्ने र व्याज तिर्न नसक्ने ऋणीको धितो कम मुल्यांकन गरि ठगी गर्दै आएका भण्डारी विरुद्ध नेपाल प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो ‘सिआइबी’, राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय र सहकारी विभागमा उजुरी परेका थिए । चर्चित गायक रामकृष्ण ढकालले त लालीगुराँस सहकारीबाट ठगिएको भन्दै सहकारी विभागमा तत्कालिन रजिष्टर टोकराज पाण्डेलाई भेटेरै उजुरी दिएका थिए । हाल अख्तियार प्रमुख रहेका प्रेम कुमार राई गृहसचिव रहेको बेला ढकालले भेटेरै उजुरी दिएका थिए । तर, ती निकायहरुबाट कारबाही हुनु त परको कुरा छानबीन समेत भएको छैन । भण्डारीको प्रभावमा सिआइबीमा रहेको फाइल बर्षौंदेखि तामेलीमा राखिएको छ । ठूला सहकारीमाथि सुपरिवेक्षणको अधिकार पाएको राष्ट्र बैंक मौन छ ।


भण्डारीको सहकारीमा मिटर ब्याजी महेश सिंहको लगानी रहेको थियो । त्यति मात्रै होइन माओवादी युद्धकालमा लुकाइएको कालोधन यही सहकारीमा लकाइएको छ । भण्डारीले ललितपुरका माओवादी इन्चार्ज तथा हाल उर्जा तथा जलस्रोत मन्त्री रहेकी पम्फा भुसालका पिए हरि दाहालाई समेत लगानी गरेका छन् । लगानी गरेको स्टेटमेन्ट आर्थिक दैनिकसँग उपलब्ध छ । त्यस्तै माओवादीकै नेता तथा पूर्व मन्त्री गणेशमान पुनले पनि यही सहकारीबाट रकम लिएका छन् । यता यसअघि गृहमन्त्री समेत रहेका शक्ति बहादुर बस्नेतले पनि आफ्ना भतिज नाता पर्ने मुक्ती बस्नेतको नाममा रकम निकालेका छन् । त्यो रकम उनले चुक्ता गरेका छैनन् । स्रोतका अनुसार युद्धकालको पैसा भएका कारण उक्त रकममा सहकारीले ताकेता समेत गर्न सकेको छैन ।


यता सर्वसाधरण ऋणीलाई भने भण्डारीले १८ देखि २० प्रतिशत मिटर ब्याज शैलीको ब्याज असुली गर्दै आएका छन् । ब्याज तिर्न नसकेका ऋणीको सम्पत्ति लिलाम गर्दा भण्डारीले लालीगुराँस इन्भेष्टमेन्ट नामक कम्पनि मार्फत मुल्यांकन गर्ने र आफ्नै सहायक कम्पनि खडा गरेर बहुमुल्य घरजग्गा हत्याउने गरेका छन् । सोही विषयमा सिआइबीले छानबीन थालेको थियो । तर, तत्कालिन सिआइबी प्रमुखहरु पुष्कर कार्की र निरज शाहीले आर्थिक प्रभावमा परेर फाइल नै अघि बढाएनन् । प्रहरी महानिरिक्षक भएर अवकाश पाएका सर्वेन्द्र खनालले पनि अर्बौंको ठगीधन्दामा आँखा चिम्लिदिए ।


जग्गा खरिदका लागि श्री लालीगुराँस सहकारीबाट केशव पुरीसहित उनकै साझेदारहरुले २ करोड ९० लाख रुपैयाँ सामुहिक ऋण लिएका थिए । तर, सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले पुरीलाई थाहा नै नदिई पुरीको लिलामी मात्रै गरिएन दाखिल खारेज नै गरिएको छ । त्यसविरुद्ध उनले विभिन्न निकायमा उजुरी दिए । तर, उनको उजुरीबारे वर्षांसम्म कतै सुनुवाई भएको छैन ।


पीडित केशव पुरीले २०७२ साल फागुन १६ गते सहकारीहरुको राष्ट्रिय संगठन राष्ट्रिय सहकारी महासंघमा उजुरी गरेका थिए । दर्ता नम्बर ३५४ रहेको उजुरी पत्रको सोही दिन दर्ता भएको जानकारी दिइए पनि अहिलेसम्म कुनै कारबाही भने भएको छैन । त्यसो त सहकारी महासंघ नै भण्डारीको कठपुतली बन्ने गरेको आरोप छ ।


त्यस्तै २०७२ साल फागुन १३ गते नै पीडितहरु योगेन्द्र सिलवाल र केशव पुरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । एक दिनपछि दर्ता भएको उक्त उजुरी दर्ता नम्बर ५ सय ६४ माथि हालसम्म कुनै छलफल वा कानुनी कारबाही भएको छैन ।
सहकारीले नियम विपरित आफूहरुको सम्पत्ति हत्याएको भन्दै उनीहरुले फेरी २०७३ वैशाख २० गते राष्ट्रिय सहकारी महासंघमा उजुरी दिएका थिए । तर, उक्त उजुरीमा पनि केही सुनुवाई भएन ।


त्यतिमात्रै होइन पीडितहरुले २०७२ फागुन १३ गते तत्कालिन उपप्रधान तथा सहकारी मन्त्री चीत्रबहादुर केसीलाई भेटेरै उजुरी बुझाएका थिए । ‘शुरुमा उहाँ हामीलाई भएको अन्यायका विरुद्ध कारबाही गर्ने निर्णयमा पुग्नु भएको थियो,’ पीडित केशव पुरी भन्छन्,‘पछि केही शक्ति केन्द्रको फोन आएपछि उहाँले केही गर्न सक्नु भएन ।’


२०७२ चैत्र १६ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी परेपनि प्रहरीले लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीलाई पक्राउ गर्न सकेन ।
सहकारी, बैंक तथा सबै वितिय संस्थाहरुको नियामक निकाय हो–राष्ट्र बैंक । तर राष्ट्र बैंकले पनि उनीहरुलाई न्याय गर्न सकेन । २०७४ कार्तिक ७ गते पीडितहरु राष्ट्र बैंकमा लालीगुराँस सहकारीले ठगेको प्रमाण सहित उजुरी लिएर पुगेका थिए । राष्ट्र बैंकले उनीहरुको उजुरी दर्ता गरेको रेकर्डमा देखिन्छ । तर, राष्ट्र बैंक पनि कारबाहीमा अघि बढ्न सकेन ।


आफूहरुले लिएको ऋण तिर्दै गर्दा केही समय समस्या भएपछि कार्यकारी निर्देशक सुरेन्द्र भण्डारलिे धम्काएको उजुुरीमा आरोप लगाइएको छ ।
‘त्यस संस्थाका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले ग्यारेन्टीका लागि थप जायजेथा राख्न दबाव दिँदै धम्काउन थाले र हामी बाध्य भएर हामी र हाम्रा मान्छेका नाममा भएको जग्गाहरु थप धितोको रुपमा राख्न बाध्य भयौँ,’ पीडितहरुले दिएको उजुरीमा भनिएको छ,‘जसका लागि ललितपुर किटिनी गाविस वडा नम्बर ९ को कित्ता नं. १७ क्षेत्रफल ७ रोपनी ९ आना किटिनी वडा नम्बर ८ को कित्ता नम्बर ६९ क्षेत्रफल १ रोपनी एक आना २ पैसा किटिनी ४ क को कित्ता नम्बर १०६ क्षेत्रफल ३ रोपनी ५ आना साथै सोही स्थानको कित्ता नम्बर १६१ क्षेत्रफल ८ आना जग्गाहरु थप ग्यारेन्टीको रुपमा राख्न बाध्य बनाइयो र राख्यौँ ।’


उनीहरुले दिएको उजुरीमा भण्डारीले गरेको मनोमानीको फेहरिस्त नै उल्लेख गरिएको छ ।


‘हामी दुवै जना निज कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीलाई भेट्न जाँदा नभेट्ने तर स्टाफसँगै कुरा गरेर जानु भन्ने ती स्टाफहरुले सही जानकारी नदिने हामीले तिर्नुपर्ने साँवा र ब्याजको स्टेटमेन्ट माग्दा स्टेटमेन्ट नदिने दिएपनि हातैले टाईफ गरि दिने जस्ता व्यबहार गरियो,’ राष्ट्र बैंकमा परेको उजुरीमा भनिएको छ,‘पछिल्लो समयमा हामीले बुझ्दा हामीलाई जानकारी नै नदिई उक्त जग्गाहरु दाखिल खारेज गरि संस्थामा लगेको जानकारी बाहिरैबाट हुन आयो ।’

आर्थिक दैनिकमा खबर छ ।

सम्बन्धित खबर