काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको आपत्ति जनाएका छन् ।
आज जनकपुरमा आयोजित गरिएको एक कार्यक्रममा बोल्दै उनले राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरेर फेरी संविधान उलंघन गरेको भन्दै आपत्ति जनाएका हुन् । दोस्रो पटक पनि संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्व राष्ट्रपति यादवले बताए ।
पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधान विपरित प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरी पनि संविधान बचाउन पहल गर्नुपर्ने बताए । उनले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरुको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि समेत व्यक्त गरे ।