महाप्रबन्धक न्यौपानेका कारण टाट पल्टिँदै उदयपुर सिमेन्ट : क्लिंकर उत्पादन छैन, झूटो प्रचार !

दियो पोस्ट  

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग टाट पल्टिने अवस्थामा पुगेको छ । २०७७ माघ १ देखि उद्योगको महाप्रबन्धकको रुपमा गोपीकृष्ण न्यौपाने भित्रिएपछि उद्योग टाट पल्टिने अवस्थामा पुगेको हो ।

यद्धपी महाप्रबन्धक न्यौपाने भने आफूले उद्योगलाई ९० प्रतिशत नाफामा पुर्याएको झूटो विवरण सार्वजनिक गर्दै हिँडेका छन् । न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विभिन्न फजुल खर्च कटौती गरेपछि ८० दशमलव ५२ प्रतिशत उपलब्धी हासिल भएको छ । तर, तथ्यहरुले उनको दाबी नै झूटो रहेको देखाएको छ । दियोपोस्टलाई प्राप्त विभिन्न कागजात अनुसार उदयपुर सिमेन्ट उद्योग नाफामा होइन उल्टो टाट पल्टिने अवस्थामा पुगेको छ ।

चुनढुंगालाई सेकेण्डरी क्रसर मार्फत टुक्रा बनाई तयार भएको ८५ प्रतिशत चुनढुंगा १३ प्रतिशत रातोमाटो र २ प्रतिशत आइरन ओर गरी क्लिंकरको कच्चा पदार्थ मिश्रण तयार पारिन्छ । कोइलाको माध्यमबाट १४ देखि १५ सय डिग्रिसम्मको तापक्रममा पकाई सिमेन्टको कच्चा पदार्थ क्लिंकर उत्पादन गरिन्छ । क्लिङ्कर उत्पादन गर्ने मुख्य मेसिन हो–क्लिन ।

प्रतिदिन ८ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने यो क्लिनले वार्षिक २ लाख ६४ हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्छ । तर, उदयपुर सिमेन्ट उद्योगले उक्त क्लिनको क्षमता भन्दा निकै कम उत्पादन गरेर विद्युत प्राधिकरणलाई करोडौँ रुपैयाँ विजुलीको बिल मात्रै तिरिरहेको छ ।
दियोपोस्टलाई प्राप्त उदयपुर सिमेन्टको विद्युत खपत र क्लिंकर उत्पादन विवरण अनुसार उद्योगले मेसिन मात्रै चलाइरहेको छ । तर, उत्पादन भने लक्षअनुसार आधा पनि भएको छैन ।

गत तीन महिनाको विवरण अनुसार दैनिक ८ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने मेसिनले दैनिक कुनै उत्पादन नगरेपनि लाखौँ रुपैयाँ विद्युत महशुल बुझाईरहेको छ ।

विवरण अनुसार गत असार १ गते रु २ लाख ८२ हजार ८ सय २७ रुपैयाँ विद्युत महशुल बुझाईएका छ । तर, उक्त दिन कुनै पनि क्लिंकर उत्पादन भएको छैन । विवरणमा प्लान्ट सटडाउन भएको उल्लेख गरिएको छ । असार २ मा ४२ युनिट विद्युत खपत भएर ४ लाख रुपैयाँ भन्दा बढी विद्युत महशुल उठेको छ तर, सो दिन पनि एउटा पनि क्लिंकर उत्पादन भएको छैन । यो क्रम असार ५ सम्म चलेको छ । तर, दैनिक २ लाख रुपैयाँ भन्दा बढी विद्युत महशुल बुझाएपनि उद्योगले एउटा पनि क्लिंकर उत्पादन गर्न सकेको छैन ।

असार ६ मा १ सय ७५ मेट्रिक टन क्लिंकर उत्पादन भएको छ । ४५ युनिकट विद्युत खपत गरेबापत उद्योगले ४ लाख ३० हजार भन्दा बढी रकम विद्युत महशुलमै बुझाउनुपर्छ । विवरण अनुसार उक्त दिन २१ प्रतिशत मेसिनको क्षमतामात्रै प्रयोगभएको छ ।

असार महिनाभर ७ दिन मात्रै क्लिंकर उत्पादन भएको छ । जबकी विद्युत महशुल भने दैनिक २ लाखभन्दा बढीको दरले नियमित बुझाउनुपरेको छ ।

२०७९ वैशाखमा जम्मा १६ दिन मात्रै उक्त मेसिनबाट क्लिंकर उत्पादन भएको छ । तर, दैनिक विद्युत महशुल भने एक महिनाकै बुझाइएको छ । क्लिंकर उत्पादन उत्पादन भएका दिनहरुमा पनि मेसिनको क्षमताको ११ देखि २१ प्रतिशतसम्म मात्रै उत्पादन भएका छन् । केही छिटफूट ५० प्रतिशत र एक दिन मात्रै ७० प्रतिशत उत्पादन भएको छ ।

२०७९ जेठमा जम्मा १९ दिनसम्म मात्रै उक्त मेसिनबाट क्लिंकर उत्पादन भएको छ । तर, ती दिनहरुमा पनि ४२ प्रतिशतदेखि मुस्किलले ५० प्रतिशतसम्म मात्रै क्षमता प्रयोग भएको छ । जबकी विद्युत महशुल भने दैनिक २ लाखदेखि १० लाखसम्म बुझाइएको छ ।

यसरी घाटामा पुगेर टाटै पल्टने अवस्थामा पुगेपनि उद्योगका महाप्रबन्धक न्यौपाने भने ९२ प्रतिशतसम्म प्रगति भएको गफ दिँदै आएका छन् ।

सम्बन्धित खबर