फस्टाउँदै हुण्डी, नियन्त्रणमा सरकार चुक्दा वार्षिक पाँच खर्बको कारोबार

दियो पोस्ट  

काठमाडौं । नेपालमा वार्षिक १२ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । गत आर्थिक वर्षमा साढे १२ खर्ब रेमिट्यान्स १८९ देशबाट भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा छ । यो रेमिट्यान्स वैधानिक बाटो हुँदै आएको हो । पछिल्लो समयमा नेपालमा हुण्डी कारोबार मार्फत पनि ठुलो रकम नेपाल भित्रिने गरेको अर्थ मन्त्रालयकै वार्षिक प्रतिवेदनहरुमा उल्लेख छ । राष्ट्र बैंकले गरेको आर्थिक सर्वेक्षणमा समेत नेपालमा अवैध बाटो हुँदै हुण्डी कारोबारबाट वार्षिक पाँच खर्बभन्दा बढी रकम भित्रिने गरेको बताइएको छ । पैसा स्रोत खुलाउन नपर्ने र भनेको बेला एजेण्टामार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको कारोबार फस्टाउँदै गएको सरकारी अध्ययनमा औँल्याइएको छ ।

नेपालमा वाषिक ३०–४० प्रतिशत रेमिट्यान्स अवैध बाटो भएर भित्रिने गरेको राष्ट्र बैंकले गर्दै आएको ‘माइग्रेसन एण्ड रेमिट्यान्स रिपोर्ट’ मा उल्लेख छ । यो अध्ययनलाई सरकारी निकायहरुले आधार मान्दै आएका छन् । हुण्डी कारोबारले सरकारको तथ्यांक व्यवस्थादेखि नीति र योजनाहरुको निर्माण एंव कार्यान्वयमा पनि नकारात्मक असर पारिरहेको राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्ट स्वीकार्नुहुन्छ । हुण्डी कारोबार रोक्ने प्रयास र आवश्यक प्रक्रिया चल्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । ‘हुण्डीका कारण रोजगारी बढ्दैन र स्वदेशी माग पनि अपेक्षकृत रुपमा बढ्न सक्दैन । हुण्डीले विदेशमा लगानी प्रवाहित हुँदा स्वदेशमा बढ्नुपर्ने लागनी बढ्दैन । यसले राष्ट्रिय अर्थतन्त्रलाई सबै पक्षबाट असर पारिरहेको हुन्छ ।’ उहाँले भन्नुभयो, ‘हुण्डी कारोबार वैदेशिक रोजगारीमा कार्यरत कामदार, विदेशमा रहेका नेपालीहरु, व्यापार– व्यवसाय गर्ने र अन्य माध्यमबाट आउने गरेको छ । यो अवैध भए पनि पछिल्ल्लो समय बढ्दो छ । हुण्डी कारोबार रोक्न सबैले प्रयास गर्नुपर्छ ।’

आजको हिमालय टाइम्स पत्रिकामा खबर छ ।