
रूपन्देही – बुटवलको उर्खमाउलो गर्मी ! रापिलो सडक ! सडकमा गुडिरहेका गाडीको पट्यार लाग्दो आवाज ! बाटो काट्न हतार गरिरहेका मान्छेको हुल ! पुष्पलाल पार्कबाट केही दुरी पर सडक किनारमा डोकोभरि फलफुल राखेर बेच्न बसेका ब्यापारी र किन्ने ग्राहकबीचको मोलमोलाई ! अस्पताल भित्र र बाहिर ओहोर दोहोर गर्नेहरुको तछाडमछाड !! बुटबलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको बाहिरपट्टि सडक छेउछाउतिर सधै देखिने दृश्य हो यो ।
यिनै दृश्यभित्र अनेकौ कथाहरु छन् । त्यसमध्ये एक हो, ‘डोको’को कथा अर्थात ‘भोको’ पेटको कथा ! भनिन्छ नि, भोक बिरुद्धको संघर्ष निकै ‘पेचिलो’ हुन्छ । यदि त्यसोे नहुँदो हो त, उनले टन्टलापुर घाममा पसिना चुहाउँदै डोको बोकेर बजार चहार्नु पर्दैनथ्यो होला । ‘उनी’ अर्थात गुल्मी, नेटादर्लिङ्गकी ४४ वर्षिया टिका शिरिष मगर । लुम्बिनी प्रादेशिक अस्पताल नजिकै डोकोमा फलफुल राखेर बेच्ने फुटपाथ ब्यापारी मध्येको एउटा अनुहार ।
गाउँमा खेतीपाती गर्ने जग्गा जमिन थिएन । उनले गाउँमै ज्याला मजदुरी गरेर जेनतेन जिबिकोपार्ज गरिरहेकै थिइन् । बालबच्चा सानै थिए । त्यत्तिकैमा उनका श्रीमान बिरामीले थला परे । भनेको बेला काम पाउन मुस्किल भयो । श्रीमानको उपचार गर्न, घर ब्यवहार चलाउन, बालबच्चा पढाउन र साहुको रिण ब्यवहार मिलाउन उनलाई हम्मे–हम्मे पर्यो । त्यसपछि उनले गाउँ छाड्ने निर्णय गरिन् ।
दुखै गरे पनि ‘काम’ अनुसारको ‘दाम’ पाइने शहरको खोजी गर्दै उनी ५ वर्ष अघि बुटवल आएकी थिइन् । उनका लागि बुटवल बिरानो शहर थियो । साथमा पैसा थिएन । आफ्नो भन्नु पनि कोही थिएन । कहाँ बस्ने? के खाने? बिरामी श्रीमानको उपचार कसरी गर्ने? बालबच्चालाई कहाँ पढाउने? यस्तै अन्यौलाका बीचबाट उनले बुटवलमा बसाई सारेकी थिइन् । बुटबल आएको केही दिनपछि टिकाले बसपार्क नजिकै कोठा खोजिन् । र, घरबाट आउँदा ल्याएका भिटीझ्याम्टा कोठामा थन्काएर काम खोज्न हिडिन् ।
बुटबलमा काम पाउन निकै मुस्किल ! काम खोज्दै भौतारिएका दिनहरु सम्झिदैँ उनी भन्छिन्, ‘बाहिरबाट हेर्दा मात्र झिलिमिली रैछ बुटबल बजार । सानोतिनो काम पाइएला, घर ब्यवहार मिलाम्ला, आफुले पढ्न नपाए नि छोरा–छोरीलाई राम्रै स्कुलमा पढाम्ला भनेर यहाँसम्म आइयो, तर यहाँ त काम पाउनै मुस्किल रैछ ।’
टिका परिवारसहित बुटबल झरेको महिनौँ भइसकेको थियो । दैनिक काम खोज्न हिँड्दा–हिँड्दै उनी निकै थाकीसकेकी थिइन् । आर्थिक अभावका कारण बुटवलको बसाई सहज नहुने हो कि भन्ने चिन्ताले उनलाई गिजोल्नु सम्म गिजोल्यो ।

एक दिन सधैजसो उनी बिहानै काम खोज्न भन्दै डेराबाट निस्किदै थिइन् । छिमेकीको घरमा डेरा गरि बस्ने एक जना बहिनीले बेसन फ्याक्ट्रीमा पिठो चाल्ने कामदारको माग भएको खबर सुनाईन् । ति बहिनीको कुरा सुनेर उनीभित्र आशाको ‘दियो’ धपक्क बल्यो । त्यसपछि उनी त्यतैतिर लागिन् ।
‘बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म काम ! दिनको दुई सय रुपैयाँ ज्याला ! खाजाको ब्यवस्था आफै गर्नु पर्ने !’ फ्याक्ट्रीका मालिकले एकै स्वासमा काम र कामको प्रकृतिको बारेमा बताए । ‘नखाऔँ भने दिनभरिको सिकार ! खाऔँ भने कान्छा बाउको अनुहार !’ भने झैँ काम पाएपनि उनी खुसी हुन सकिनन् ।
‘दिन दुई गुना, रात चौगुना’ बढिरहेको महंगीमा दिनको दुई सय रुपैयाँले कसरी खर्च धान्ने? उनले केही निर्णय सकिनन् । उनी केही बेर मौन रहिन् ।
उनको मनमा धेरै कुरा खेल्न थाले । आफुसंग ‘पाँच रुपैयाँ’ नहुँदा छट्पटाएका दिनहरु सम्झिइन् । नुन किन्न २० रुपैयाँ नहुँदा छिमेकीसंग सापटी माग्नु परेका दिनहरु सम्झिइन् । चामल किन्न जाँदा पसलेले ‘उधारो’ नपत्याएर रित्तै फर्किनु परेको क्षण सम्झिइन् । श्रीमानको रोगी अनुहार सम्झिईन् । साहुको रिण र बालबच्चाको भबिष्य पनि सम्झिईन् । ‘पैसा हुँदै नहुनु भन्दा दिनको २ सय रुपैयाँले पनि धेरै महत्व राख्छ जिन्दगीमा ।’ उनले आफ्नो मन आफैले सम्झाइन् । त्यसपछि भोलिदेखि काममा आउने निधो गरेर डेरा फर्किइन् ।
बेसन फ्याक्ट्रीमा करिव ६ महिना जति काम गरिन् । तर, काम अनुसारको दाम भने कहिल्यै पाइनन् । यता पैसाको अभावले उनको दैनिकी निकै असहज बन्दै गएको थियो । श्रीमानलाई दिनदिनै रोगले च्याप्दै गयो । श्रीमानको उपचार गर्न तत्काल पैसा आउने ठाउँ पनि थिएन । बुटबल आएदेखि कोठाको भाडा तिरेकी थिइनन् । दुई सय रुपैयाँका लागि बेसन फ्याक्ट्रीमा अल्झिनु भनेको समय खेर फाल्नु जस्तै ठानेर उनले बेसन फ्याक्ट्री छोडिन् ।
बेसन फ्याक्ट्रीबाट फर्केको दिनदेखि उनका पुरानै दिनहरु पूनः सुरु भए । अभावले संघर्ष गर्न सिकाउँदो रहेछ । उनले संघर्षको नयाँ आयाम खोज्दै पूनः पहिले जस्तै काम खोज्न भौतारिन थालिन् ।
बुटवल अभावको मात्रै होइन, संभावनाको शहर पनि हो । उनले यही अभावका बीचबाट संभावनाको खोजी गरिरहेकी थिइन् । बाटोमा आफु जस्तै महिलाले डोकोमा फलफुल र तरकारी बेच्दै गरेको देखेकी थिइन् । आफुले पनि यस्तै गर्न पाए दुई छाक टार्न सहज हुन्छ कि भन्ने अड्कल काटेर उनी बुटबलस्थित हाट बजार गइन् र डोको किनिन् । डोकोमा २० दर्जन जति केरा किनेर राखिन् । त्यसपछि, उनी केराको डोको बोकेर ब्यापार हुनसक्ने संभावित स्थान पहिल्याउदैँ हिड्न थालिन् ।
धेरै लगानी गर्नु नपर्ने, एकै दिनमा लगानी फिर्ता हुने र नाफाका लागि धेरै दिन कुर्नु नपर्ने भएकाले पनि ‘डोको’ आम्दानीकोे सजिलो माध्यम थियो । त्यसैले उनले डोकोमा फलफुल राखेर बजारका हरेक गल्ली, सडक र चोक चोकमा घुम्न थालिन् ।
फलफुल बेचेर कमाएको पैसाले जेनतेन घर खर्च चल्न थाल्यो । सुरुका केही वर्ष उनले राम्रै आम्दानी पनि गरिन् । मेहनत अनुसारको आम्दानी हुन थालेपछि उनी निकै हौसिएकी थिइन् ।

तर, दुई वर्ष अघि बुटवल उपमहानगर पलिकाले फुटपाथमा ब्यापार गर्न नपाईने नियम लागु गरे पछि उनको ब्यवशाय संकटमा पर्न थाल्यो । बाटोमा बसेर फलफुल बेचेको देख्यो कि नगर प्रहरीले लखेटिहाल्थे ।
नगरप्रहरीका कारण आफुहरुले निकै झन्झट बेहोर्नु परेको उनी बताउँछिन्, भन्छिन्–‘दुई वर्ष जति भयो नगरप्रहरीले निकै दुख दिन थालेका छन् । कहिले फलफुलको डोको खोसिदिन्छन् । कहिले बसेको ठाउँबाट लखेट्छन् । कहिले फलफुल रोडमा पोखिदिन्छन् । नगर प्रहरीबाट ‘ज्यान’ र ‘डोको’ बचाउन निकै मुस्किल छ ।’
नगर प्रहरीसंग लुकामारी खेल्दै ब्यापार गर्नु परेको उनको भनाई छ । ‘यताबाट आउने हुन् कि उताबाट आएर डोको खोसेर लैजानेहुन भन्ने चिन्ता हुन्छ । कहिले फलफुल तौलिन लागेको बेला आउँछन् र लखेट्छन् । लखेटेपछि भाग्नै पर्यो । डोको लगिदिए भने अर्को दिन डोको कहाँबाट ल्याउने?’ उनले प्रश्न गर्छिन् ।
त्यसो त, नगरप्रहरीबाट डोको जोगाउन निकै संघर्ष गर्नु पर्छ । हरेक दिन नगरप्रहरी ‘हुरी बतास’ आए जसरी आउँछन् । प्रहरी आएको थाहा पाएपछि ‘आयो आयो’ भन्दै सबै जना भाग्न थाल्छन् । एक छिन ‘भागाभाग’ मच्चिन्छ । भाग्न सक्नेहरु भागिहाल्छन् । भाग्न नसक्नेहरुको डोको खोसिन्छ । डोकोमा बाँकी रहेका फलफुल पनि उनीहरु आफैले लिएर जान्छन् ।
नगरप्रहरी आएपछि अस्पताल बाहिरको क्षेत्र एकछिन ‘रणभुमि’ जस्तै बन्छ । उनीहरु आफ्नो काम सकाएर बाटो लागेपछि केही बेरमा वातावरण शान्त हुन्छ । तर डोको र फलफुल खोसिनेहरु भने आतंकित र चिन्तित बन्ने गर्छन् । कारण, डोको नगरप्रहरीको हातमा परेपछि फिर्ता हुँदैन । भोलिका लागि अर्को डोको किन्न पैसा हुँदैन ।

टिकाको पनि दर्जनभन्दा बढी ‘डोको’ नगर प्रहरीले खोसेर लगिसकेका छन् । नगरप्रहरीले डोको खोसेर लैजाँदा आफु र आफ्ना बच्चाको गास खोसेर लगिदिए जस्तो लाग्छ उनलाई । जति ‘डोको’ खोसिए पनि व्यापारको शिलिशिला भने रोकिदैन । किनकी उनलाई बाँच्नु छ, अर्थात भोको पेट बिरुद्ध संघर्ष गर्नु छ ।
नगर प्रहरीबाट डोको जोगाउन भाग्दै गर्दा उनी कैयौँ पटक लडेकी छिन् । लड्दा हात खुट्टामा थुप्रै चोट लागेका छन् । आफ्नो चोट देखाउँदै उनी भन्छिन्, ‘एउटा डोको जोगाउन ज्यानको बाजी लगाएर भाग्नु पर्छ । उनीहरु रित्तै आएका हुन्छन, हामी भारी बोकेर भाग्नु पर्छ । त्यसैले पनि उनीहरुका अघि हाम्रो केही लाग्दैन । उनीहरुले पछाडीबाट लाठी बर्साउँछन्, भाग्दा ढुङ्गामा ठोक्किएर चोट लाग्छ । यस्ता चोट त कति छन् कति । पीडा छ भनेर सबैलाई देखाउँदै हिड्न नि नसकिने रैछ ।’
केही दिन अघि मात्रै नगरप्रहरीले उनीमाथि आक्रमण गरे । नगरप्रहरीले उनका कपडा च्यातिदिए । उनीमाथि लाठी बर्साए । र उनको फलफुलसहितको डोको खोसेर लगिदिए । कारण थियो, फुटपाथमा बसेर ब्यापार गर्नु ।
कुरा यही साउन १९ गते शनिवारको थियो । सधै झैँ त्यसदिन पनि उनी बिहानै बजार गइन् र २० किलो जति स्याउ किनेर ल्याइन् । अस्पतालको छेउछाउ मान्छेको भिड हुने र ब्यापार पनि राम्रै हुने भएकाले त्यस दिन पनि उनी त्यतै तिर लागिन् ।
लुम्बिनी प्रादेशिक अस्पतालको बाहिर मान्छेको भिडभाड सधै झैँ उस्तै थियो । उनी अस्पतालको उत्तरपट्टिको सडक किनारामा केही बेर ‘डोको’ बोकेरै उभिइरहिन् । आफ्ना ‘चिम्सा’ र ‘गोला’ आँखा मान्छेको भिडतिर घुमाइन् । खै के सोँचिन कुन्नि? धेरैबेर पछि निधारबाट नाम्लो छुटाइन् र मान्छेकै भिडनेर ‘डोको’ बिसाएर बसिन् । जहाँ उनीजस्ता दर्जानौँ महिला र केही पुरुषहरु डोकोमा फलफुल राखेर बेच्न बसेका थिए ।
अरु दिनको तुलनामा त्यो दिन खासै ब्यापार भएन । घाम निकै चर्किसकेको थियो । मध्यान्न भइसक्दा पनि २/४ किलो स्याउ बाहेक अरु बिक्री नभएपछि उनी घर फर्किने तरखर गर्दै थिइन् । त्यसैबेला नगरप्रहरीको एक हुल उनी भएतिर आए । नगरप्रहरीलाई देख्नेबित्तिकै उनी डोको समातेर भाग्न थालिन् । तर, नगरप्रहरीले उनलाई समाइहाले ।
उनी नगरप्रहरीको नियन्त्रणमा थिइन् । केही बेर नगरप्रहरी र उनीबीच डोको ‘खोसाखोस’ भयो । उनले नगरप्रहरीबाट आफ्नो डोको छुटाउने प्रयास गर्दैथिइन् । उनीबाट डोको छुटाउन नगरप्रहरीले उनको कपडामा समातेर उनलाई भुइँमा घिसारे । उनका कपडा च्यातिए । नगरप्रहरीले उनलाई लछारपछार गरे । उनीहरुले जर्बजस्ती डोको तान्दा टिकाको घाँटीमा नाम्लो फस्यो । नाम्लो घाँटीमा अड्किएर स्वास फेर्न मुस्किल भएपछि उनी भुइँमा लड्नि । त्यसपछि नगरप्रहरीले उनी माथि ‘लाठी’ बजारे र उनको ‘डोको’ खोसेर लगे ।
आफुमाथि आक्रमण भएपछि उनी जिउँदो लास झैँ भुइँमा लडिरहिन् । डोको खोसेर बिजय हासिल गरे झैँ प्रशन्न मुद्रामा नगरप्रहरी आफ्नो बाटो लागे । उनी भने आफ्नोे खोसिएको डोको र फलफुल परसम्म हेरिरहिन् । उनका आँखाबाट बर्रर आँसु बर्सिए । फेरि पनि उनका बालबच्चाको गास खोसियो । उनको सपनामाथि हमला भयो । त्यतीमात्र होइन नगरप्रहरीले उनको आत्मसम्मानमाथि चोट पुर्याउने काम गरेका थिए । नगरप्रहरीको ज्यादतीका कारण उनी बिछिप्त बनेकी थिइन् ।
उनीमाथि नगरप्रहरीले आक्रमण गरेको घटनाले सम्पूर्ण फुटपाथ ब्यापारीहरु आक्रोशित बने । घटनाप्रति धेरैले चासो देखाए । घटना भएको भोलिपल्ट टिकासहित सम्पूर्ण फुटपाथ ब्यापारी र बिभिन्न मजदुर संगठनले ब्यानर सहित उप–महानगरपालिका पुगेर नगरप्रहरीको ज्यादतीका बिरुद्ध नाराबाजी गरे ।
टिका शिरिषलाई न्याय दे ! नगर प्रहरी आतंक बन्द गर ! हामीलाई गरिखान दे ! निश्चित स्थान तोकेर ब्यापार गर्न दे ! गरिबलाई दुख दिने नगरप्रहरी मुर्दावाद!! जस्ता नारा लगाउदै दिनभर श्रमिक महिलाहरुले आन्दोलन गरे ।
सोही दिन बुटबल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले टिका र अन्य पीडितलाई आफ्नै कार्यकक्षमा बोलाएर भेटे । प्रमुख पाण्डेले घटनाका बारेमा उनीसंग सोधपुछ गरे । उनले पीडितसंग घटना अप्रत्यासित भएको भन्दै घटनाप्रति दुख मनाउ गरि टिकालाई र ५ हजार रुपैयाँ दिएर माफी मागे । उनीसंगै एक वर्ष अघि नगरप्रहरीका कारण खुट्टा भाँचिएकी गुल्मी बिरबासकी नर्मदा टन्डनलाई पनि ५ हजार रुपैयाँ दिएर पठाए ।

नगरप्रमुखले दिएको पाँच हजार रुपैयाँ लिएर उनी घर फर्किन् । टिका भन्छिन्, ‘मेयर सा’पले हामीलाई भेटेर घटनाका बारेमा सोध्नु भयो । पैसा पनि दिनु भयो । उहाँले “नगरप्रहरी दाजुभाईले गरेको ज्यादतीप्रति म निकै दुखी छु । तपाईहरुको रोजीरोटी खोस्ने हाम्रो मनशाय होइन । हाम्रै कर्मचारी दाजुभाईबाट यस्तो घटना भएछ, यसप्रति हामी दुखी छौँ” भन्नु भयो । उहाँले हामीसंग राम्रै कुरा गर्नु भयो ।’
तर, नगरप्रमुख पाण्डेले दिएको पाँच हजार रुपैयाँले उनको गुमेको आत्मसम्मान फिर्ता ल्याउने कुरै थिएन । त न उनका च्यातिएका कपडासंगै फाटेको मन सिलाउने कुनै धागो नै थियो । बरु, फुटपाथ ब्यापारका लागि निश्चित स्थान तोकिदिएर ब्यवस्थित ढंगले गरिखाने वातावरण बनाइएको भए उनी लगायत अन्य फुटपाथ ब्यापारीलाई समेत राहत मिल्ने थियो ।
टिका शिरिष मात्रै होइन, डोकोमा फलफुल राखेर बेच्ने फुटपाथ ब्यापारीको संख्या बुटवलमा मात्रै करिव दुई सय पचासको हाराहारीमा छ । उनीहरुलाई समेत नगरप्रहरीको अवरोधका कारण ढुक्कसंग ब्यापार गर्ने अवस्था छैन ।
फुटपाथ ब्यापारी सिता पौडेल नगरप्रहरीको ज्यादतीका कारण आफुहरु त्रासमा बाँच्नु परेको बताउँछिन् । भन्छिन्, ‘हामीहरु नगरपालिकाबाटै असुरक्षित छौँ । हामीलाई ढुक्कसंग काम गरेर खाने वातावरण छैन । बरु नगरपालिकाले ‘डोको’को पनि कर उठाओस् हामी कर तिर्न तयार छौँ । तिनहुँ खोला तिर गएर हाम्रो ब्यापार हुँदैन । हामीले पनि छोरा छोरी पाल्नु छ ।’ नगरप्रहरीको दिनहुँको डर र त्रासले रातमा राम्रोसंग निद्रा नलागेको उनको गुनासो छ ।
एक वर्ष अघि गुल्मी बिरबासकी नर्मदा टण्डनलाई नगरप्रहरीले लखेटे । नगरप्रहरीबाट डोको जोगाउन भाग्दै गर्दा बिपरित दिशाबाट आएको गाडीले ठक्कर दियो र उनको खुट्टा भाँचियो । अहिले पनि नर्मदाका खुट्टामा तीनबटा रड छन् । खुट्टामा ‘रड’ बोकेरै उनले काम गरिहेकी छिन् । तर, उनीजस्ता महिलाको सवालमा उप–महानगरपालिकाले चासो दिएको छैन ।

नगरप्रहरीको आतंकका कारण टन्डनजस्ता दर्जनौँ फुटपाथ ब्यापारीहरु घाइते तथा अंगभंग हुनु परेको नेकपा माओवादी केन्द्र बुटवल उप-महानगरपालिकाका नगर अध्यक्ष महेन्द्र भुसाल बताउँछन् । श्रमिक महिलामाथि हुने गरेका यस्ता घटना गंभिर मानव अधिकार विपरितका घटना भएको भुसालको भनाई छ । टिका शिरिषमाथि भएको घटनाको बिरोध गर्दै उनी भन्छन्, ‘महिलालाई हातपात गर्नु कानुन बिपरित कार्य हो । त्यसदिन नगरप्रहरीले कानुन हातमा लिएर महिलामाथि हातपात गरे, जुन अत्यन्तै निन्दनीय छ ।’
अध्यक्ष भुसालका अनुसार, यतिबेला उप–महानगरपलिकाले महिलाहरुको ‘डोको’को कर उठाउने तयारी गर्दैछ । दैनिक दुई/चार सय कमाएर जिबिकोेपार्जन गर्ने गरिब तथा मजदुरहरुलाई ब्यवस्थित ढंगले गरिखाने वातावरण बनाइदिनुको साटो डोकोको पनि ‘कर’ उठाउन खोज्नु उप–महानगरपालिकाको नियत गलत भएकोे भन्दै उनी आक्रोश ब्यक्त गर्छन् ।
यता, महिला अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मी नै यस घटनाका बारेमा बेखबर भएको महिला अधिकारकर्मी मनु खड्काको भनाई छ । उनी भन्छिन्, ‘यसैपनि महिलाको पक्षमा कम आवाज उठ्ने गर्छन् । त्यसमाथि यस्ता घटनामा अधिकारकर्मीहरु बोल्न चाहदैनन् । फुटपाथमा व्यापार गर्ने बिपन्न श्रमजिबी महिलाहरुको मानव अधिकारको सवाल सधै ओझेलमा पर्ने गरेका छन् ।’ उनीहरु राज्यबाटै पीडित हुनु परेको अधिकारकर्मी खड्का बताउँछिन् । सम्पूर्ण श्रमजिबी महिलाहरुको आत्मसम्मान, रोजीरोेटी र सुरक्षाको ग्यारेण्टी राज्यले नै गर्नु पर्ने उनको माग छ ।
त्यसो त, कुनै पनि वाहानामा जो सुकै महिलामाथि हातपात गर्नु, दुब्र्यवहार गर्नु तथा कपडा च्यातेर अपमान गर्नु गैरकानुनी कार्य हो । यो घटनाबाट पनि पुष्टि हुन्छ कि, राज्य अहिले पनि महिला मैत्री बन्न सकेको छैन । न त गरिबले राज्यको अनुभुति गर्न पाएका छन् । फुटपाथमा व्यापार गर्ने श्रमजिबी महिलाहरुको उचित ब्यवस्थापनमा राज्य तथा स्वयंम बुटबल उप–महानगरपालिकाले बेवास्ता गरेको प्रष्ट देखिन्छ ।
महिला अधिकारका क्षेत्रमा बेलाबखत निकै पेचिला बहसहरु हुने गर्छन् । त्यो पनि राजधानीका महंगा तारे होटल तथा सुबिधा सम्पन्न रिसोर्टहरुमा । तर, प्रशासनकै आँखा अगाडी राज्यकै एउटा निकायबाट टिका शिरिष जस्ता महिला कुटिदा ति अधिकारकर्मी भनिने महिलाहरु किन बोल्न सक्दैनन् । प्रश्न गंभिर छ ।