
काठमाडौं । गत असार २५ गते कुमारी बैंककी कुमारीपाटी शाखामा कार्यरत कर्मचारी तृप्ती राणा पक्राउ परिन् । पक्राउ परेको विषयलाई प्रहरी र केही सुनियोजित संचार माध्यमले निकै हल्लाखल्ला समेत गरे । तर, प्रहरीले विशेष महत्व दिएको पक्राउ परेको भनिएकी ती कर्मचारीलाई अन्तत फरार सुचीमा राखेर मुद्दा दर्ता गरेको पाइएको छ । हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ गरिएको भन्दै प्रहरीले नै सार्वजनिक गरेपनि अन्तत ः आफन्त, नातागोता र कुमारी बैंककै पूर्व कर्मचारीले रकम जम्मा गरिदिएको पाइएपछि प्रहरीले मुद्दा कमजोर बनाएर दर्ता गरेको छ । कुमारी बैंकका सीईओ रामचन्द्र खनालले नै बैंककी कर्मचारी फसाएको पाइएको हो ।
प्रहरी शक्तिको दुरुपयोग गर्दै राणा र शाहलाई पक्राउ गरि मुद्दा चलाइएपनि प्रहरी र सरकारी वकिल समक्ष राणाले दिएको बयानमा भने सीईओ खनालले नै झूटो मुद्दा लगाएर फसाएको उल्लेख छ ।
कुमारी बैंकको जाहेरीको आधारमा पक्राउ परेका उनीहरुलाई प्रहरीले हुण्डि कारोबारमा अनुसन्धान गरेको थियो । आफ्नै बैंकको कर्मचारीको खाता नम्बर उल्लेख गरि उनको खातामा आफन्त नातागोता र पूर्वकर्मचारीले नै जम्मा गरेको रकमलाई हुण्डी कारोबार भन्दै जाहेरी दिएको र सोही जाहेरीको आधारमा पक्राउ परेको हालै प्राप्त अभियोग पत्रमा खुलेको छ । पीडित कर्मचारी तृप्ती राणा कर्मचारी युनियनको अध्यक्ष रहेको उनले विभिन्न स्थानमा सीईओ विरुद्ध उजुरी दिएको भन्दै सुनियोजित रुपमा सीईओ खनालले आफूलाई फसाएको बयानमा उल्लेख गरेकी छिन् ।

‘म कुमारी बैंक कर्मचारी स्वतन्त्र युनियनको महिला उपाध्यक्ष रहँदै सो बैंक एनसिसि बैंकसँग मर्जर पश्चात कर्मचारी कटौती गर्ने क्रममा मैले कर्मचारीको आवाज उठाउँदै आएको थिएँ,’ राणाले प्रहरी र सरकारी वकिल समक्ष बयानमा भनेकी छिन्,‘सो अगावै बैंकका सीईओ रामचन्द्र खनालले ममाथि प्रतिशोध लिई मलाई पटक पटक विभिन्न स्थानमा सरुवा गर्ने र हैरानी दिएकोले मैले निज विरुद्ध श्रम विभाग र श्रम अदालतमा उजुरी गरि छलफल पछि मेरो सरुवा फिर्ता भएको थियो,’ उनले बयानमा भनेकी छिन्,‘म युनियनको कार्यवाहक अध्यक्ष भएपछि मैले युनियनको तर्फबाट श्रम विभागमा र अनुचित श्रम अभ्यासको विषयमा बैंकका विरुद्धमा उजुरी दिएकी छु । श्रम अदालतमा कर्मचारी विनियमावली बदरको मुद्दा दायर गरेकी छु । म महिला भएको कारणले मलाई पटक पटक बैंकका सीईओले युनियन वा जागिर छोड भनि पटक पटक धम्की त्रास दिँदै आएका थिए । सोही कारणले बैंकले मसँग रिसईवी लिई मैले हुण्डीको कारोबार गरेको भनि म विरुद्ध जाहेरी दिएको हो ।’
उनले प्रहरीमा दिएको बयान अनुसार आफ्नो कुमारी बैंकमा रहेको खातामा कुनै पनि रकम हुण्डीको थिएन । ‘मेरो श्रीमानको नाममा भएको जग्गा बेचेर मेरो नाममा जम्मा गरेको, मेरो बुवा तथा साथिभाईबाट जम्मा गरेको रकम समेत विभिन्न मितिमा पटक पटक मेरो खातामा जम्मा भएको, मेरो भैँसेपाटीमा रहेको घर, बिराटनगरमा रहेको घर र जग्गा बेचेर आएको रकम, जम्मा भएको पैसा समेत मैले सोही कुमारी बैंकको कर्मचारी खातामा जम्मा गरिदिएको हुँ,’ राणाको बयानमा भनिएको छ,‘मेरो हजुरबुवादेखि बुवासम्मको पैतृक सम्पत्तिको नेपालका बिराटनगर, महोत्तरी,काठमाडौं लगायतका ठाउँमा प्रशस्त खेतिजन्य जग्गा जमिन, घडेरी, पोखरी रहेको छ, जसबाट घर भाडा लगायत आम्दानी प्राप्त हुन्छ, जसबाट मेरो बुवाको साथी भाई मार्फत् पठाएको खातामा रकम जम्मा गरिदिएका हुन् ।’
सोही बैंकमा कार्यरत कर्मचारी जो अवकाशमा गएका बखत आएको ८५ लाख रुपैयाँ मध्ये १५ लाख रुपैयाँ रकमलाई समेत हुण्डी हो भन्दै बैंकका सीईओ खनालले जाहेरी दिएका थिए । जबकी श्रेष्ठले प्रहरी समक्ष दिएको बयानमा आफूले उक्त रकम ऋण सापटी बापत राणालाई दिएको बयान दिएका छन् । चिनजानका आफन्त र नातागोताले राणाको खातामा जम्मा गरिदिएको रकमलाई समेत हुण्डीको भन्दै प्रहरी प्रतिवेदन बनाउन दबाव दिएको थियो । तर, प्रहरीले पीडित राणा नै बैंकबाट उल्टो प्राताडनामा रहेको देखेपछि त्यही अनुसारको अनुसन्धान प्रतिवेदन बनाएको छ ।
प्रहरीले फरार प्रतिवादी बनाएको सहदेव राणा बुटवल मनि ट्रान्सफरका संचालक हुन् उनले पनि प्रहरी र सरकारी वकिल समक्ष बयानमा आफ्नो तृप्ती राणाको बुवा अरुण विक्रम राणासँगको सम्बन्धका कारण बुवाले नै पठाएको रकमलाई हुण्डी भनि फसाएको बताएका छन् ।
यता सीईओ खनालले पनि राणाको बयानसँग मिल्दोजुल्दो बयान दिएका छन् । बयानमा खनालले राणालाई स्पष्टिकरण सोधेको र चित्त नबुझेपछि बैंक विरुद्ध विभिन्न निकायमा उजुरी हालेको बताएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानको क्रममा १७ लाख ९३ हजार रुपैयाँ बुटवल मनि ट्रान्सफर मार्फत बैंकिङ प्रणाली मार्फत नै तृप्ती राणाको खातामा भुक्तानी भएको निष्कर्श निकालेको छ । सोही निष्कर्शलाई राष्ट्र बैंक अन्तर््गतको कसुर भनि सरकारी वकिल कार्यालयले परिभाषित गरेको देखिन्छ ।
सीइओ खनालको टालटुले जवाफ

तपाईं नेतृत्वमा रहेको कुमारी बैंकमा कार्यरत कर्मचारी तृप्ती राणा र सहदेव शाहलाई झूटो मुद्दा लगाएर फसाउनु भएछ नी ?
सीईओ खनाल : हामीले त्यस्तो जाहेरी केही दिएको छैन । हामीले प्रहरीलाई यसमा छानबीन गर्देउ भनेर पठाएका हौँ । प्रहरीले छानबीन गरेर के गर्यो भन्ने जानकारी भएन ।
तपाईं आफै गएर प्रहरीमा बयान दिनु भएको छ त कसरी थाहा हुँदैन ?
बयान त प्रहरीले बोलाएपछि गएको हो । जाहेरी हालेको नहालेको विषयमा हामीलाई थाहा हुने कुरै भएन ।
अभियोग लागेकी तृप्ती राणाले प्रहरी र सरकारी वकिलमा बयान दिँदा तपाईं विरुद्ध उजुरी हालेकै कारण मलाई फसायो भनेर बयान दिनु भएको छ नी ?
प्रहरीलाई छानबीन गर भनेर दिएको केस हो । कसैले छानबीन गर भनेर सक्छ र ?
तपाईंहरुले कर्मचारीको खाता आफैँले निगरानी गर्न कुन कनुनले पाउनुहुन्छ ?
कर्मचारीको तलबी खाता त बैंकले तलब दिने भएपछि तलबी खाता त निगरानी गर्न पाउँछ । अरु एकाउन्ट त पाइँदैन । अन्य एकाउन्टको हकमा पनि राष्ट्र बैंकमा रिपोर्ट गर्नुपर्छ ।
राष्ट्र बैंक विरुद्धको कसुर त राष्ट्र बैंकले अनुसन्धान गरेर उजुरी दिने होला नी तपाईंहरुले कसरी उजुरी दिन पाउनु भयो ?
शंका लागेपछि राष्ट्र बैंकलाई पत्राचार गर्ने हो ।
तपाईंहरुले त प्रत्यक्ष प्रहरीलाई नै पत्राचार गराउनु भएछ नी ? यतिसम्मकी खातामा के कति रकम आएको पनि हेरेर पठाउनु भएछ । बयानमा जसले पैसा पठाएको भनिएको छ त्यो नै आपसी लेनदेन देखियो । अधिकांश कारोबार बैंकिङ प्रणालीबाटै भएका छन् ती कसरी हण्डी भए ?
कारोबारको डिटेल के छ हामीलाई थाहा छैन । क्यासको कारोबारको मात्रै दिएको हो । राष्ट्र बैंक र प्रहरीलाई दिएका हौँ । अरु के गरेको छ हामीलाई थाहा भएन । नगद कारोबार भनेर पठाएका छौँ ।
तपाईंले दाबी गरे जस्तो छैन नी अभियोग पत्रमा बैंकिङ प्रणालीबाटै कारोबार भएको भनिएको छ ।
हजुरसँग डकुमेन्ट नै रहेछ भने त हामी पनि पढौँला लिएर आउनुहोला । बसेरै कुरा गरौँला ।
घटना विवरण कागजमा तपाईंको र राणाको बयान अनुसार तपाईंहरुबीच विवाद देखिन्छ । तपाईंले स्पष्टिकरण सोधेको र त्यो विषयमा उजुरी समेत परेको स्विकार गरिएको छ । तपाईंहरुबीचको विवाद त देखियो नी ?
कसरी विवाद हुन्छ र । केही विषय स्पष्टिकरण मार्फत सोधेका हौँ ।
बयानहरु हेर्दा उच्च तहका कर्मचारीको पनि तलबी खातामा कारोबार भएको रहेछ । उनीहरुको पनि यसरी नै निगरानी गर्नुहुन्छ र प्रहरीम्म पुर्याउनु हुन्छ ?
सबैको तलबी खाता निगरानी हुन्छ ।