काठमाडौं । नेपाललाई पारालिम्पिकमा ऐतिहासिक काश्य पदक दिलाएकी पलेशा गोबर्धन बुधबार स्वदेश फर्किएकी छन् ।
उनको स्वागतमा बुधबार बिहान खेलकुद मन्त्रीसहित राखेपका पदाधिकारीहरू त्रिभुवन विमानस्थल पुगेका थिए। त्यहाँ बाजागाजासहित पलेशाको भव्य स्वागत गरिएको थियो।
पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षक कविराज नेगी लामालाई नगर परिक्रमा गराइँदै राखेपमा विशेष समारोह आयोजना गरिएको थियो।
कार्यक्रममा पलेशा र प्रशिक्षक लामाले पारालिम्पिकको अनुभवसमेत सुनाए।
पलेशाले एउटा मेडल जित्दा आफ्नो यति धेरै चर्चा हुन्छ भनेर नसोचेको बताइन्। उनले मेडल आफूले नभई सम्पूर्ण नेपालीहरुले जितेको पनि बताइन्।
यसले नेपालले पनि ओलम्पिकमा मेडल जित्न सक्छ भन्ने सन्देश गएको उनले बताइन्। साथै अन्य विधाका खेलाडीहरुलाई पनि उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
आफूले आफूलाई विश्वास गर्दा कुनैपनि लक्ष्य हासिल हुन सक्ने पनि उनले बताइन्। ‘यो सुरूवात मात्रै हो। अझै धेरै बाँकी छ,’ उनले भनिन्।