
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन् ।
आईसीसी लिग–२ का खेलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेले आईसीसीको नयाँ वरियतामा २२ स्थान सुधार गरेका छन् । उनी ४१ औं स्थानमा उक्लिएका छन् । उनले क्यानडाविरुद्ध ४९ रन र दुई विकेट लिएका थिए ।
अष्ट्रेलियाका विस्फोटक ब्याटर ट्राभिस हेड पनि ४१औं वरियतामा छन् । अलराउन्डरतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी ६ स्थान तल झर्दै ४८औं, कुशल मल्ल ५१औं तथा सोमपाल कामी ५३औं स्थानमा छन् । आईसीसीले जारी गरेको बलिङ तर्फको वरियतामा भने सन्दीप ४८औं स्थानमा यथावत् छन् ।