
काठमाडौँ । बाँकेको नेपालगन्जस्थित ‘सहकारी वित्तीय विकास संस्था’मा ३७ करोड हिनामिना गरेको आरोपमा अध्यक्षसहित तीन जना पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले पक्राउ पूर्जी सदर गरेपछि अदालतको फैसला कार्यान्वयन टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संस्थाका अध्यक्ष हरदेवबक्स चौधरी, सदस्यहरु सिद्धिकुमार महर्जन र सुरत खटिक रहेका छन् । बाँके जिल्ला अदालतका सूचना अधिकारी तिर्थराज आचार्यका अनुसार अध्यक्ष चौधरीलाई अदालतले ५ वर्ष कैद र ५० हजार जरिवाना तोकेको छ ।
उनीहरु बिरुद्ध २८ असोज २०७६ मा जिल्ला अदालत बाँकेमा सहकारी ऐन, ठगी र संगठित अपराध सम्वन्धि मुद्दा दायर भएको थियो।
चौधरी यसअघि ठगी मुद्धामा एक वर्ष कैद सजाय भुक्तान गरि २५ लाख धरौटीमा छुटेका थिए । जिल्लाको ठूला सहकारीमध्ये एक मानिने यस संस्थामा करिब १२ हजार बचतकर्ता रहेका छन् ।