अधुरै रह्यो ओजनको आमालाई काठमाडौं घुमाउने रहर

प्रकाश विसी

काठमाडाै‌- ओजन बुढाको आमालाई काठमाडौं घुमाउने रहर अब कहिल्यै पुरा हुने छैन् । जेन-जी आन्दोलनको गोलीले २४ गते उनको जीवन नै खोस्यो । 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२, का अनोज अध्ययनका लागि २०७८ सालमै काठमाडौं आएका थिए। घरको माहिलो छोरा, २१ वर्षको उमेर, पछाडि अझै नौ कक्षामा पढिरहेको भाइ घरको आधारस्तम्भ बन्ने सपना बोकेका थिए । घरको आर्थिक अवस्था नाजुक थियो। दाजु कपुर भारतमा मजदुरी गरेर परिवार धानिरहेका छन्।

देशमै केही गर्न सकिँदैन कि भन्ने पीरले उनी विदेश जान तयारी गर्दै थिए। फोनमा दाइसँग बोलेका शब्द अझै ताजा छन्, “दाइ, म काठमाडौंबाट विदेश जान्छु, दुई लाख रुपैयाँ चाहियो।” दाइ कपुरले भने, “भाइ, खाडी गएर के हुन्छ र? यतै बस, किन जान्छस् ३०–४० हजारका लागि?” ओजनलाई आमाबुबालाई काठमाडौं घुमाउने ठूलो रहर थियो। उनले आमालाई केही दिन अगाडी काठमाडौं घमाउँछु भनेर भनेका थिए।

त्यही बीचमा जेन-जी आन्दोलनको हल्ला चल्न थाल्यो । २३ गते पहिलो दिन सानो-ठूलो प्रदर्शन भइरहे पनि घरमा खासै चासो दिएनन् । काठमाडौंमा यस्ता आन्दोलन सामान्य थिए। तर २४ गते गोली चलेर मानिस मारिएको खबर आयो । त्यसबेला कपुरले घबराउँदै भाइलाई फोन गरे तर ओजनको मोबाइल अफ थियो ।

सम्पर्कविहीन भइसकेपछि, २७ गते कपुरले हराएको सूचना राखे। भाइ भेट्ने जो कसैले खबर गरिदिन अपील गरे। कपुरका साथिले कुपरलाइ ओजनकाे फोटो पठाए । यति बेला ओजनलाई मृत अवस्थामा बि एण्ड बी अस्पतालमा राखिएको थियो ।

गाउँपालिकाको सहयोगमा आमाबुबा काठमाडौं आए । छोरासँग हात समाएर काठमाडौं घुम्ने सपना देखेका आमाबुबा आज छाेराकाे अन्त्येष्टि गर्न आएका थिए। पशुपति आर्यघाटमा अनोजको दाहसंस्कार भयो ।

आमाको आँखामा अझै आँसु थामिएको छैन् । जसको हात समातेर काठमाडौं देख्ने रहर बोकेकी थिइन्, त्यो सपना अहिले खरानी बनेर बगिसकेको छ। अब घरमा अधुरो सपना र असीम पीडा मात्र बाँकी छ।