
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बुढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो ।
कार्यक्रममा कम्पनीको अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गरे । उनले कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने बताए ।
कम्पनीका डेपुटी सिईओ निराजन कंडेलले सफल बीमा सल्लाहकार बन्नको लागि आवश्यक सीप लगायतका विषयमा जानकारी दिएका थिए ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब र ग्यालेक्सी क्लबका योजनाहरु प्रस्तुत गरेको छ। क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बिमाशुल्कको लक्ष्य तोकिएको हुन्छ ।
तोकिएको लक्ष्य हासिल गर्न सफल बीमा सल्लाहकारहरू क्लबको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुनु पर्ने प्रवाधान छ । सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।
कार्यक्रममा चर्चित गायिका समिक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालले आफ्ना प्रस्तुतीद्वारा कार्यक्रमलाई मनोरन्जनात्मक बनाएका थिए ।
