बाढी-पहिरोको जोखिम बढेपछि चीनले अनिश्चितकालका लागि बन्द गर्‍यो तातोपानी नाका

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाढी र पहिरोको जोखिम बढेपछि चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपाल-चीन सीमाको अर्को प्रमुख व्यापारिक नाका रसुवागढीको टिमुरे बजारसहित भन्सार तथा अध्यागमन कार्यालयमा ठूलो क्षति पुगेको छ । यससँगै दुवै प्रमुख उत्तरी नाका व्यापारिक रूपमा ठप्प भएका छन् ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार लिपिङ क्षेत्रमा पहिरोको जोखिम कायमै रहेसम्म चिनियाँ पक्षले तातोपानी नाकाबाट व्यापारिक गतिविधि सञ्चालन गर्ने सम्भावना न्यून छ । यद्यपि, यात्रुहरूको आवतजावत भने जारी रहने बताइएको छ ।

तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि नेपालका लागि चीनसँगको व्यापारिक आवागमनमा ठूलो असर परेको छ । हाल कोरला नाका मात्रै चीनसँगको व्यापारका लागि सञ्चालनमा रहेको प्रमुख विकल्पका रूपमा बाँकी रहेको छ ।