
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९ सय ५१ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सोमबार साँझ ५ बजेसम्म संकलन गरेको विवरणअनुसार नेपालका विभिन्न जिल्लासहित भारतमा समेत शव फेला परेका हुन् ।
प्रहरीका अनुसार रसुवामा ३२, नुवाकोटमा ९५, धादिङमा ५६, चितवनमा २ सय ८२, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय १६ र नवलपरासी पश्चिममा १ सय ६३ जनाको शव फेला परेको छ । यस्तै, भारतमा चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
यसरी विभिन्न स्थानमा फेला परेका शवको संख्या ९ सय ५१ पुगेको हो ।
बाढी तथा पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ । साथै, विभिन्न निकाय र स्थानीयवासीसँगको समन्वयमा उद्धार तथा खोजी कार्य जारी राखिएको छ ।
बाढीका कारण अवरुद्ध भएका विभिन्न सडक तथा बाटो खुलाउनसमेत प्रहरीले सम्बन्धित निकायसँगको समन्वयमा काम गरिरहेको जनाएको छ ।