
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीसँगै देशैभर पानी परिरहेको छ । यस्तो अवस्थामा धेरैले यो पानी पर्न कहिलेबाट रोकिन्छ भन्ने लागेको होला ।
नेपालमा मनसुन सक्रिय हुने समय चार महिना हो । जेठको मध्यदेखि असोजको १५ सम्म मनसुन सक्रिय रहन्छ ।
तर यस पटक मनसुन सुरु हुनु अगावै मौसम पूर्वानुमान महाशाखाले भनेको थियो यस पटक पानी कम पर्नेछ ।
पानी कम पर्ने भए पानी पर्न कहिले रोकिन्छ त ?
हामीले यही प्रश्न जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेसँग सोधेका थियौँ ।
मौसमविद् लामिछानेका अनुसार मौसमको पूर्वानुमान आगामी ३ दिनसम्मका लागि मात्रै स्पष्टरुपमा गर्न सकिन्छ । पानी पर्छ कि पर्दैन भनेर भन्न बढीमा आगामी ७ दिनसम्मका लागि मात्रै सकिन्छ । लामिछानेले भने, ‘आगामी तीन दिन देशका धेरै स्थानमा सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । गत चौबिस घण्टामा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत भएको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा पनि मध्यमदेखि भारी वर्षा भएको छ ।’
लामिछानेका अनुसार आगामी ७ दिनसम्म अर्थात् भदौ २३ गतेसम्म पानी पर्ने देखिएको छ । तर कुन तहको मौसम सक्रिय हुन्छ भनेर अहिले नै भन्न सकिँदैन । आगामी तन दिनमा भने केही स्थानहरूमा भारी वर्षाकै सम्भावना छ ।’

त्यसो भए पानी कहिलेबाट रोकिएला वा कम होला भन्ने प्रश्नमा लामिछानेले भने, ‘मनसुन पूर्णरुपमा निस्क्रिए हुन त असोज १५ गतेसम्म नै कुर्नुपर्ने हुन सक्छ । तर पानी पर्ने दर बिस्तारै कमजोर हुँदै जान्छ । असोज महिना लागेपछि पानी थोरै र केही स्थानहरूमा मात्रै पर्ने हुन्छ ।’
अनि पानी कम पर्छ भनेको होइन त भन्ने दियोपोस्टको प्रश्नमा लामिछानेले भने, ‘पानी कम पर्छ भन्नु मनसुन चाँडै रोकिन्छ भनेको होइन । गत वर्षहरूका भन्दा कम पर्न सक्छ मात्रै भनेको हो । मनसुन निष्क्रिय हुन त असोज १५ गतेसम्म कुर्नुपर्ने पनि हुनसक्छ ।’
आगामी सातापछि मौसम के होला त भन्ने प्रश्नमा पनि लामिछानेले त्यसका लागि फेरि अर्को साता सम्पर्क गर्नुपर्ने बताए ।
मनसुन सक्रिय भइरहँदा अहिले रसुवा र नुवाकोटमा उद्धारको काम प्रभावित भइरहेको छ । सडक र पुलमा क्षति हुँदा नियमित बाटो बन्द भएको छ । वैकल्पिक कच्ची बाटोमा हिलोका कारण सवारी आवागमनमा समेत समस्या भइरहँदा कहिले पानी पर्न रोकिएला भन्ने धेरैको प्रश्न छ ।
तर मौसमविद्का अनुसार पानी पर्न कम हुन कम्तीमा भदौको चौथो सातासम्म कुर्नुपर्ने हुन्छ भने मनसुन सकिन असोजको दोस्रो सातासम्म कुर्नुपर्ने हुन सक्छ ।