हेटौँडा-काठमाडौं आवतजावतका लागि नयाँ रुट, ठूला सवारी त्रिभुवन राजपथबाट चलाइने

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढी तथा विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएपछि प्रहरीले हेटौँडा-काठमाडौं आवतजावत गर्ने सवारीसाधनका लागि नयाँ रुट निर्धारण गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आजदेखि लागू हुने गरी सवारीसाधनको प्रकृतिअनुसार छुट्टाछुट्टै रुट व्यवस्थापन गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ । काठमाडौं-मकवानपुरतर्फ फर्किंदा भने यस्ता सवारीसाधनले कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने प्रहरीले जनाएको छ ।

त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनले काठमाडौँ-हेटौँडा आउजाउका लागि छुट्टै रुट प्रयोग गर्नुपर्नेछ । काठमाडौँबाट हेटौँडातर्फ आउँदा फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी रुट तथा हेटौँडाबाट काठमाडौं जाँदा भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रुट निर्धारण गरिएको छ ।

मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई उक्त पुल प्रयोग गर्न रोक लगाइएको छ । यस्ता सवारीसाधनले बेलिब्रिजसँगै रहेको डाइभर्सन प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

विपद्को अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । राजमार्गमा सवारी चालकले धैर्य र अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरिएको छ ।

यसैबीच, भोटेकोसी बाढी र अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएर आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

धादिङकै गजुरी गाउँपालिका-२ स्थित परेवाभिरमा पनि बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।