भोटेकोशी बाढीपछि बेपत्ता टिमुरे भन्सारका अधिकृत शर्मा मृत फेला

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव त्रिशूली नदीको किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार शर्माको शव गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा भेटिएको हो ।

हुम्लाको ताजाकोट गाउँपालिका-२ निवासी शर्मा जागिरको सिलसिलामा रसुवाको टिमुरेमा कार्यरत थिए । बाढीपछि उनी सम्पर्कविहीन भएका थिए । शवको पोस्टमार्टमपछि परिवारले बुझिसकेको प्रहरीले जनाएको छ ।

गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीपछि हालसम्म ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।