
काठमाडौँ । नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्याउने उद्देश्यले आइटीसी अवार्ड र नास-आइटी बीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस सहकार्यअन्तर्गत आइटीसी अवार्ड मार्फत राष्ट्रिय स्तरमा पहिचान भएका उत्कृष्ट प्रविधि तथा नवप्रवर्तनलाई एसिया-प्रशान्त क्षेत्रको प्रतिष्ठित एपिक्टा अवार्ड्समा सहभागी गराउन आवश्यक सहजीकरण र मार्गदर्शन उपलब्ध गराइनेछ।
समझदारीअनुसार आइटीसी अवार्डमा सहभागी तथा विजेता भएका योग्य कम्पनी, स्टार्टअप र नवप्रवर्तकहरूलाई एपिक्टा अवार्ड्सका लागि आवश्यक योग्यता तथा विधा छनोट, आवेदन र मनोनयन प्रक्रिया, प्रस्तुति तयारीलगायत विषयमा सहयोग गरिनेछ। यससँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको स्वरूप बुझ्न र आफ्ना प्रविधि तथा उत्पादनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्न आवश्यक तयारीमा समेत सहजीकरण गरिनेछ।

आइटीसी फाउडेन्स नेपालका अध्यक्ष राजन लम्सालले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रविधि तथा नवप्रवर्तन पहिचान गरेपछि त्यसलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्नु आइटीसी अवार्डको यात्राको स्वाभाविक अर्को चरण भएको बताए ।
उनले आइटीसी अवार्डले नेपालमा भइरहेका उत्कृष्ट प्रविधि र नवप्रवर्तनलाई पहिचान गर्ने काम गर्दै आएको बताए । ‘अब ती उपलब्धिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर विस्तार गर्नु आवश्यक छ’, लम्सालले भने’ एपिक्टासम्म पुग्ने प्रक्रियामा आवश्यक सहजीकरण गर्न सकिए नेपाली प्रतिभाले आफ्नो क्षमता अझ व्यापक रूपमा प्रस्तुत गर्न सक्छन्।’