
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको बताएका छन् । बाढीपछि अझै ३ हजार ९ सय १६ जना सम्पर्कविहन रहेको उनले जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहतलाई सरकारले निरन्तर प्राथमिकतामा राखेको बताए । उद्धार गरिएका तथा विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जना डिस्चार्ज भइसकेको उनले जानकारी दिए ।
प्रधानमन्त्री शाहका अनुसार बाढी आएको दिनदेखि नै सरकारले सुरक्षा निकाय, स्थानीय तथा प्रदेश सरकार र अन्य सरोकारवाला निकायसँग समन्वय गरी उद्धार तथा राहतका काम अघि बढाएको थियो । बाढी आएको केही समयमै नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि परिचालन गरिएको र त्यसपछि निजी हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको उनले बताए ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्नुका साथै टेलिकम कम्पनीमार्फत मोबाइलमा सतर्कताको सूचना पठाइएको र खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रधानमन्त्री शाहले बताए ।
उनका अनुसार बाढी आएको भदौ १० गते रातिसम्मै प्रभावित क्षेत्रमा ८ ट्रक राहत सामग्री पठाइएको थियो भने मोबाइल प्रयोगकर्ताका लागि भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क गरिएको थियो ।
भोलिपल्ट आफू स्वयं पूर्वाधार विकासमन्त्रीसहित प्रभावित क्षेत्रमा पुगेर वस्तुस्थिति बुझेको बताउँदै शाहले रसुवा र नुवाकोटका लागि १-१ करोड तथा धादिङका लागि ५० लाख रुपैयाँ निकासा गरिएको जानकारी दिए । त्यस दिन राति ८ बजेसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १३ हजार २ सय ९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भइसकेका थिए । ६९ उडानमार्फत ३ सय ५१ जनाको उद्धार गरिएको पनि उनले बताए ।
राहत कोषमा ७ अर्बभन्दा बढी
प्रधानमन्त्री शाहले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग जुटिरहेको बताए ।
उनका अनुसार हालसम्म राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २ सय १७ रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा गरिएको र निकासा भएको रकममध्ये ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहमा पठाइसकिएको छ ।
हाल कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २ सय १७ रुपैयाँ मौज्दात रहेको तथा थप ६१ लाख ४१ हजार ७ सय २ अमेरिकी डलर जम्मा भएको उनले जानकारी दिए ।
१ हजार १ सय १४ शव फेला
बाढीपछि हालसम्म १ हजार १ सय १४ शव फेला परेको प्रधानमन्त्री शाहले बताए । तीमध्ये ९५ शवको सनाखत भई परिवारले बुझिसकेको उनले जानकारी दिए ।
पहिचान हुन नसकेका शवलाई कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको र डीएनए लगायत पहिचान खुलाउने आधार सुरक्षित राखिएको उनले बताए । डीएनए परीक्षणबाट पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिने प्रधानमन्त्री शाहको भनाइ छ ।
४३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध
बाढीले भोटेकोशी-त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको प्रधानमन्त्री शाहले बताए ।
उनका अनुसार विद्युत् उत्पादन गरिरहेका ८ वटा र निर्माणाधीन ४ वटा आयोजना क्षतिग्रस्त भएका छन् । बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको उनले जानकारी दिए ।
नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापना भएको उनले बताए । जलविद्युत् आयोजनामा उद्धारका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोलीसमेत परिचालन भइरहेको शाहले जानकारी दिए ।
सडक र पुलमा ठूलो क्षति
बाढीका कारण गल्छी-वेत्रावती-रसुवागढी सडक तथा पृथ्वी राजमार्गको गल्छी-मुग्लिङ खण्डमा ठूलो क्षति पुगेको प्रधानमन्त्री शाहले बताए ।
उनका अनुसार विदुर-वेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डको ४० किलोमिटर पूर्णरूपमा र १६ किलोमिटर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । पृथ्वी राजमार्गका कृष्णभीर, परेवाभीरलगायत क्षेत्रमा पनि क्षति पुगेको छ ।
बाढीमा ४८ वटा झोलुंगे पुल क्षतिग्रस्त भएका छन् । तीमध्ये २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए । यस्तै ३१ वटा मोटरेबल पुल बगेका छन् ।
बाढीबाट क्षतिग्रस्त मुग्लिन-नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत गरी सञ्चालनमा ल्याउने सरकारको योजना रहेको प्रधानमन्त्री शाहले बताए ।
सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित
बाढीबाट अवरुद्ध सञ्चार सेवा दोस्रो दिनदेखि पुनःस्थापना गर्न थालिएको र हिजोसम्म ९५ प्रतिशत सेवा पुनःस्थापित भएको प्रधानमन्त्री शाहले जानकारी दिए । सञ्चार पहुँच नभएका स्थानमा ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको उनले बताए ।
नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६ सय ५३ जना प्रभावित नागरिकले आश्रय तथा राहत पाइरहेको र रसुवाका केही प्रभावितलाई समेत नुवाकोटमा आश्रय दिइएको उनले बताए ।
‘कोही कतै छुट्नुहुने छैन’
प्रधानमन्त्री शाहले सम्पर्कविहीन नागरिकको खोजी जारी रहने, घाइतेको उपचार तथा प्रभावित र घरबारविहीन नागरिकको पुनःस्थापनाको कामलाई सरकारले निरन्तरता दिने बताए । उनले भने, ‘कोही कतै छुट्नुहुने छैन ।’
बाढीको पूर्वसूचना, शव व्यवस्थापन, विदेशी सहयोग, जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार र संघ, प्रदेश तथा स्थानीय सरकारबीचको समन्वयबारे उठेका प्रश्नको समेत प्रधानमन्त्री शाहले संसदमा जवाफ दिएका थिए ।
भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ-चट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्तिमध्ये एक भएको विज्ञहरूको भनाइ रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको बताए ।
जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री शाहको भनाइ थियो ।
सम्बोधनको अन्त्यमा उनले विपद्पछि खोज, उद्धार, उपचार, राहत, व्यवस्थापन र पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधि, स्वयंसेवी संस्था, नागरिक, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाप्रति आभार व्यक्त गरे ।