
काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल प्रतिव्यक्ति १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । प्रहरी कर्मचारीहरूबाट राहतस्वरूप संकलन गरिएको रकमबाट उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै मृतक प्रहरी कर्मचारीका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउन परिवारका सदस्यसँगको सम्पर्क तथा समन्वयमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी, दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय गरिएको छ । उनीहरूको परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गर्नुका साथै रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णयसमेत भएको छ ।
मृतक प्रहरी कर्मचारीका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
यसैगरी, बाढी प्रभावित क्षेत्रका प्रहरी एकाइमा कार्यरत प्रहरी कर्मचारीलाई व्यक्तिगत सामग्रीमा भएको क्षतिको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । यस्तो सहयोग इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीलाई प्रदान गरिनेछ ।
दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका आफन्त तथा परिवारजनलाई खोजतलास, उपचार तथा सेवा-सुविधा प्राप्तिमा सहजीकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरेको छ।