
काठमाडौँ । पृथ्वीराजमार्ग अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास उद्योगसँग सहकार्य थालेको छ ।
आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा धादिङको जुगेखोलास्थित साल्ट ट्रेडिङको एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न नसक्ने अवस्था बनेपछि कर्पोरेशनले वैकल्पिक व्यवस्थामार्फत ग्यास आपूर्ति गर्न थालेको हो ।
कर्पोरेशनले मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी आफ्ना खाली ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न थालेको जनाएको छ । ती प्लान्टमा भरिएका सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।
कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाका अनुसार विपद्का कारण उपभोक्तालाई ग्यास अभाव हुन नदिन यस्तो वैकल्पिक व्यवस्था गरिएको हो । पहिलो चरणमा शुक्रबारसम्म ती दुई निजी प्लान्टमा भरिएका ग्यासका सिलिन्डर काठमाडौँ आइपुग्ने उनले जानकारी दिए ।
कर्पोरेशनले आफ्नै प्लान्टका लागि छुट्याइएका केही ग्यासका बुलेटसमेत निजी कम्पनीका प्लान्टतर्फ डाइभर्ट गरेको जनाएको छ । नेपाल आयल निगमले कर्पोरेशनलाई ग्यासको न्यून कोटा अर्थात् ‘पिडिओ’ दिँदा मागअनुसार बिक्री गर्न समस्या हुँदै आएको छ। निगमले भारतीय आयल कर्पोरेशनसँग कुल ३ हजार २५ वटा ग्यास बुलेटका लागि सम्झौता गरेकोमा साल्ट ट्रेडिङको भागमा करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्रै पर्ने गरेको जनाएको छ ।
कर्पोरेशनका अनुसार उसले मासिक ५५ हजारदेखि ६० हजारसम्म ‘एसटिसी सिलिन्डर’ खपत गर्दै आएको छ।
त्यस्तै, साल्ट ट्रेडिङले आयोडिनयुक्त नुनको आपूर्ति सहज बनाउन पर्याप्त मौज्दात रहेको जनाएको छ । कर्पोरेशनका अनुसार भदौ १७ गतेसम्म उसका भण्डारण केन्द्रमा १ लाख २७ हजार ३६१ मेट्रिकटन नुन मौज्दात छ ।
देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुने गरेको बताइएको छ । गत आर्थिक वर्षमा कर्पोरेशनले करिब २ लाख १० हजार टन नुन बिक्री गरेको थियो ।
कर्पोरेशनले करिब छ महिनालाई पुग्ने नुन मौज्दात रहेको जनाएको छ । आयोडिन शरीरलाई आवश्यक पर्ने अतिसूक्ष्म पोषक तत्व हो । सरकारले दुई बालबालिका चिन्ह भएको आयोडिनयुक्त नुन प्रयोग गर्न र ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्ने सन्देश दिँदै आएको छ ।
उपभोक्तावादीहरूले नुनजस्तो अत्यावश्यक वस्तुको आपूर्ति सरकारकै नीतिअन्तर्गत राख्नुपर्ने र यसको बिक्रीवितरणमा निजी क्षेत्रलाई प्रवेश गराउन नहुने बताउँदै आएका छन् । विपद् तथा असहज परिस्थितिमा निजी क्षेत्रबाट सहज आपूर्ति हुन नसक्ने भएकाले सार्वजनिक संस्थाको भूमिका महत्वपूर्ण हुने उनीहरूको तर्क छ ।
साल्ट ट्रेडिङले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढेसँगै बजार हस्तक्षेपसमेत गरेको छ ।
निजी क्षेत्रले प्रतिकिलो १३५ रुपैयाँसम्म बिक्री गरिरहेको चिनी कर्पोरेशनले प्रतिकिलो १०० रुपैयाँमा बिक्री गर्दै आएको जनाएको छ ।
कर्पोरेशनका अनुसार भदौ ९ गते मात्रै ६ सय टन चिनी आयात गरिएको थियो । हालसम्म करिब ३ हजार टन चिनी बजारमा पठाइसकेको कर्पोरेशनले जनाएको छ।
यसैगरी चामल, दाल, गेडागुडी र तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेका बेला आफूले बिक्री गर्दै आएका खाद्य वस्तुको मूल्य भने स्थिर राख्न सफल भएको कर्पोरेशनको दाबी छ।
सहायक प्रमुख कार्यकारी अधिकृत झाका अनुसार कर्पोरेशनको मुख्य उद्देश्य नाफा कमाउनु मात्रै नभई असहज तथा विपद्को अवस्थामा पनि नुन, खाद्यान्न र अन्य अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति निरन्तर कायम राख्नु हो।
‘सरकारी–निजी स्वामित्वको कर्पोरेशनको ध्येय दैनिक अत्यावश्यक उपभोग्य वस्तु नुनलगायत खाद्यान्नलाई असहज अवस्थामा पनि निरन्तर सेवा पुर्याउनु हो, नाफामा मात्र होइन,’ झाले भने।
पछिल्लो विपद्का घटनाले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा सार्वजनिक संस्थाको भूमिका र आवश्यकता झनै महत्वपूर्ण रहेको देखाएको छ।