भोटेकोशी बाढी: महोत्तरीका १३ जना अझै बेपत्ता, मोबाइलको घन्टी कुरेर बसेका छन् आफन्त

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि महोत्तरीका १३ जना अझै सम्पर्कविहीन छन् । एक सातादेखि आफन्तको कुनै खबर नआएपछि उनीहरूका परिवारका घरमा चुल्होसमेत नबलेको अवस्था छ । आफन्तहरू मोबाइलको घन्टी बज्ने र हराइरहेका आफ्ना मान्छेको आवाज सुन्न पाइने आशामा दिनरात पर्खिरहेका छन् ।

बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टको अवस्था पनि यस्तै छ । अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत उनका छोरा सौभाग्य बिष्ट भदौ १० गते बिहानदेखि सम्पर्कविहीन छन् ।

बाढीको खबर आएपछि परिवारले सौभाग्यसँग सम्पर्क गर्न खोजेको थियो । तर, बिहान करिब ९ बजेपछि उनको फोन लागेन । त्यसयता सरिताको नजर मोबाइलबाट हटेको छैन ।

‘बाबुले मामु, ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ,’ सरिता भन्छिन्, ‘एकछिन पनि यो मोबाइल छाडेकी छैन । अहिले सौभाग्यबाहेक अरू कुनै कुरा सम्झन सक्दिनँ ।’

सौभाग्यको खोजीका लागि उनका बुबा ध्रुव बिष्ट र मावलीतर्फका आफन्त रसुवा पुगेका छन् । परिवारको आर्थिक अवस्था सामान्य रहेकाले मेकानिकल इञ्जिनियर सौभाग्यकै आम्दानीमा घरखर्च चल्दै आएको थियो ।

‘एकचोटि त भन्दियोस्-मामु, म फसेको थिएँ, अब निस्केँ,’ सरिता भन्छिन्, ‘सौभाग्यको यति वचन सुन्ने आशामा एकछिन पनि मोबाइल छाडेकी छैन ।’

बर्दिबास-९ पशुपतिनगरको गोमस्ता टोलका खिलबहादुर राना मगरको परिवार पनि छोरी जोयाको प्रतीक्षामा छ । अपर त्रिशूली-१ जलविद्युत् आयोजनामै कार्यरत जोया भदौ १० गते बिहान ९ बजेपछि परिवारको सम्पर्कमा आएकी छैनन् ।

तीन छोरीमध्ये केही लेखपढ गरेकी जोयाकै आम्दानीमा परिवार निर्भर थियो । छोरी सम्पर्कविहीन भएपछि खिलबहादुर आफै हेलिकप्टर भाडामा लिएर रसुवा र नुवाकोटका त्रिशूली किनारसम्म पुगे । कैयौँपटक खोजी गर्दा पनि छोरीको अवस्था पत्ता लाग्न सकेन ।

‘जसको भरमा परिवारको जिन्दगी चलिरहेको थियो, उही अहिले सम्पर्कविहीन छ,’ खिलबहादुर भन्छन् ।

मटिहानी-७ का ४० वर्षीय गङ्गाराम मण्डलको परिवार पनि एक सातादेखि उनको फोनको प्रतीक्षामा छ । काठमाडौँस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काम गर्ने गङ्गाराम भदौ ९ गते कम्पनीका पाहुनासँगै रसुवा गएका थिए । त्यसदिन उनले पत्नी गुञ्जालाई ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गरेका थिए । त्यसपछि भने उनको कुनै खबर आएको छैन ।

आमा, पत्नी र चार छोराछोरी गङ्गारामको एक वचन सुन्न आतुर छन् । परिवारको एकमात्र सहारा रहेका गङ्गाराम सम्पर्कविहीन भएपछि घरमा सन्नाटा छाएको छ ।

‘आमा र चार छोराछोरी उहाँलाई सम्झिरहेका छन् । आफू भने आँसु झार्न पनि नसक्ने अवस्थामा छु,’ गुञ्जा भन्छिन् ।

जलेश्वर-७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९ बजेपछि सम्पर्कविहीन छन् । केही दिनअघि मात्रै रसुवास्थित एक जलविद्युत् आयोजनामा मेकानिकको काम थालेका हशनले भदौ ९ गते आमा मुलिमा खातुनलाई फोन गरेका थिए । केही दिनभित्रै एक साताको बिदामा घर आउने बताएका थिए । तर, त्यसपछि उनको फोन आएको छैन ।

‘दिनदिनै घरमा फोन गर्थ्यो । भदौ १० पछि पनि फोन आउँछ कि भनेर कुरिरहेका छौँ,’ हशनका पिता माजिद अन्सारी भन्छन्, ‘त्यसयता घरमा चुल्हो बलेको छैन । आफन्तहरू आउँदा सबैका आँखा टिलपिलाएका हुन्छन् ।’ परिवारका सदस्यहरू हशनबारे कुनै राम्रो खबर आउने आशामा छन् ।

भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा सम्पर्कमा आएका महोत्तरीका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित रूपमा परिवारको सम्पर्कमा पठाइसकेको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बाढीपछि सम्पर्कविहीन भएका १९ जनामध्ये छ जना परिवारको सम्पर्कमा आइसकेका छन् । अब १३ जना अझै सम्पर्कविहीन रहेको उनले बताए ।

‘अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ । उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,’ प्रजिअ यादवले भने, ‘विश्वास गरौँ, सबै सकुशल भेटिनुहोस् ।’

सिफारिस