भोटेकोशी बाढीः मृतकको संख्या १ हजार २२२ पुग्यो, ४ हजार ८७५ अझै बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये बुधबार साँझसम्म १ हजार २२२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १५५ धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा १९४ जनाको भेटिएको छ ।

यस्तै, भारतमा फेला परेको १४ वटा शव नवलपरासी पश्चिममा बुझाइएको प्रहरीले जनाएको छ । फेला परेका शवमध्ये ९५ वटा शव पहिचानपछि आफन्तलाई हस्तान्तरण गरिएको छ । पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म ८८२ वटा शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमध्ये १८१ महिला, २६३ पुरुष र ४३८ जनाको लिङ्ग पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यसैबीच, पहिचान हुन नसकेका ९५३ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढीपछि बेपत्ता भएका ४ हजार ८७५ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार १२६ जना व्यक्तिलाई राखिएको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, सम्बन्धित निकाय तथा स्थानीयवासीको समन्वय र सहयोगमा उद्धार तथा खोजी कार्य सञ्चालन गर्ने र बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत जारी राखेको जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस