भोटेकोशी बाढीमा बेपत्ता नागरिकको पहिचान गर्न डिएनए परीक्षणका लागि प्रहरीको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको पहिचानका लागि डिएनए परीक्षण गराउन आग्रह गरेको छ।

बाढीपछि फेला परेका बेवारिसे शव तथा मानव अंगहरूको वैज्ञानिक विधिबाट पहिचान गरी सम्बन्धित परिवारलाई बुझाउने उद्देश्यले डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेपत्ता व्यक्तिका सबैभन्दा नजिकका नाता हाडनाता सम्बन्धी बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । नमुना संकलनका लागि दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याब वा आफूलाई पायक पर्ने नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

विदेशमा रहेका विदेशी नागरिक वा गैरआवासीय नेपालीका हकमा सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डिएनए प्रोफाइलिङ’ गराउनुपर्ने प्रहरीले जनाएको छ। उक्त डिएनए प्रोफाइलको डिजिटल प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्नेछ।

इमेल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, राहदानी वा आधिकारिक परिचयपत्रको विवरण, व्यक्ति हराएको मिति तथा सम्भावित स्थान, मान्यताप्राप्त प्रयोगशालाबाट प्राप्त डिएनए प्रोफाइलिङ रिपोर्ट र डिएनए नमुना दिने व्यक्ति तथा बेपत्ता व्यक्तिबिचको पारिवारिक नाता खुलाउनुपर्ने प्रहरीले जनाएको छ।

डिएनए परीक्षण तथा समन्वयका लागि प्रहरीले प्रहरी निरीक्षक शम्भुबहादुर केसी ९९८४१६१६०९५० र प्रहरी नायव निरीक्षक विष्णु घिमिरे ९९८५७०९१०१३० लाई सम्पर्क अधिकारी तोकेको छ।

बाढीका कारण ठूलो संख्यामा नागरिक बेपत्ता भएको तथा कतिपय शव क्षतविक्षत अवस्थामा फेला परिरहेकाले शव तथा मानव अंगको पहिचानका लागि डिएनए परीक्षण आवश्यक भएको प्रहरीले जनाएको