
काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनको अभिलेख शाखामा बुधबार राति आगलागी भएको छ । आगलागीबाट अभिलेखमा रहेका केही कागजात जलेको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार राति करिब १२ बजे नयाँ भवनको अन्डरग्राउन्डमा रहेको अभिलेख शाखामा आगो लागेको हो । आगलागीबाट सामान्य क्षति भए पनि त्यस्तो कुनै ठुलो क्षति नभएको प्रवक्ता कोइरालाले दियोपोस्टलाई बताए ।
आगलागीबाट केही कानुन पत्रिका र मिसिलमा आवश्यक नभएको सडाउनु पर्ने कागजात मात्रै जलेको सर्वोच्चले जनाएको छ । कोइरालाका अनुसार अधिकांश सडाउनु पर्ने वा काम नलाग्ने कागजात नै जलेको र आगलागी भएको जानकारी आए लगत्तै दुई वटा दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको थियो ।

प्रवक्ता कोइरालाका अनुसार आगलागीको कारण पत्ता लागेको छैन । तर प्रारम्भिक अनुसन्धानमा इलेक्ट्रिक पावर सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीको खबर लगत्तै मुख्य रजिस्ट्रार विमल पौडेल राति १ बजे नै सर्वोच्च अदालत आएर घटनाबारे जानकारी लिएका थिए ।
अहिले आगलागीको कारण र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।