
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित हात पारेको छ। बिहीबार यूकेएम यूएसडी ओभलमा घरेलु टोली मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाए। उनले ६८ बलमा ४ चौका प्रहार गरे। यस्तै, इशान पाण्डेले २०, रोहितकुमार पौडेलले १० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रनको योगदान दिए। तेस्रो विकेटका लागि अर्जुन र इशानबीच ५७ रनको साझेदारी भएको थियो।
मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले एक/एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो । उसका लागि कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ तथा मोहम्मद स्याहदत रमीलले १३ रन बनाए ।
नेपालका करण केसीले ४ विकेट लिए भने ललितनारायण राजवंशीले २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए।
लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ र समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । मलेसिया दुई अंकसहित दोस्रो स्थानमा छ।
पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको थियो भने मलेसियाले साउदी अरेबियालाई ९३ रनले हराएको थियो। नेपालले अब आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।