
काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङबाट दुई जनाको शव निकालिएको छ।
सुरूङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए।
बुधबार हाइड्रो-मेकानिकल इन्जिनियरसहित ७-८ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र प्रवेश गरी करिब १५० मिटर माथिसम्म पुगेको थियो। सोही बाटोबाट नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको हो ।
यसअघि सरकारी उद्धार टोलीले सुरूङको मुख्य बाटोबाट भित्र प्रवेश गरी खोजी तथा उद्धारको प्रयास गरेको थियो । तर सुरूङभित्र ढुंगा, माटो र लेदो भरिएकाले उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन ।
त्यसपछि आयोजनाका प्राविधिकसहितको टोलीलाई खोजी तथा उद्धारमा परिचालन गरिएको थियो । अहिले नेपाली सेना र आयोजनाको प्राविधिक टोलीले खोजीकार्य जारी राखेको छ।
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।