
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मृतकको संख्या १ हजार २५२ पुगेको जनाएको हो ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ४७६ जना पुरुष, १२६ जना महिला, ४४ जना बालिका र ३४ जना बालक रहेका छन् । त्यस्तै, ४२८ वटा आंशिक अंग फेला परेका छन् भने ८२ शवको पहिचान हुन बाँकी रहेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, बाटो खुलाउने र शव व्यवस्थापनलगायतका कार्यका लागि नेपाल प्रहरीले ७ हजार ८९२ जना सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम अझै जारी रहेको प्रहरीले जनाएको छ ।
हालसम्म ७८७ शवको व्यवस्थापन गरिसकिएको छ । पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलनको कामसमेत भइरहेको छ ।
प्रहरीका अनुसार हालसम्म १ हजार ८३ मृतकको डीएनए नमुना तथा ५९१ जना आफन्तको नमुना संकलन गरिएको छ । संकलित नमुनाका आधारमा पहिचान हुन बाँकी शव तथा आंशिक अंगको पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ ।