
काठमाडौँ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीमा बिहीबार पनि आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।
महाशाखाका बाढीविद् सरस्वती विष्टका अनुसार भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी तथा त्रिशूली नदीमा जलसतह उल्लेख्य बढ्न सक्नेछ । आसपासका साना नदी तथा खोलामा समेत बहाव बढ्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।
भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत र डोल्पाका आसपासका साना नदीमा समेत बहाव उल्लेख्य बढ्न सक्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
त्यस्तै, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका साना नदी तथा खोलामा पनि बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।