सडक भासिएपछि एलपी ग्यास आपूर्तिमा समस्या, तराईका उद्योगबाट काठमाडौँ ल्याउने तयारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको हो।

नेपाल आयल निगमका कार्यकारी निर्देशक (बजार व्यवस्था) दिपक बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले काठमाडौँ तथा आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति सहज बनाउन विभिन्न निर्णय गरेको छ।

आपूर्ति सहज बनाउन समस्या समाधान नहुँदासम्म तराईका उद्योगबाट ग्यास सिलिन्डर भरेर काठमाडौँसम्म ढुवानी गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ।

बैठकमा निगमका अधिकारीसँगै एलपी ग्यास उद्योग संघ तथा एलपी ग्यास विक्रेता संघ काठमाडौँका प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकले पूर्वी राजमार्गअन्तर्गत कुपण्डोल खण्डमा सडक भासिएका कारण एलपी ग्यासको आपूर्तिमा समस्या आएको भन्दै काठमाडौँ उपत्यकामा बिक्री-वितरण गर्ने उद्योगका हकमा हाललाई तराईका उद्योगबाट ग्यास सिलिन्डर भरी काठमाडौँसम्म ढुवानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

त्यसरी प्राप्त ग्यासलाई ग्यास विक्रेताहरूले सामूहिक रूपमा सहजीकरण गरी बिक्री-वितरण गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ। साथै, उपभोक्ताको आवश्यकता अनुसार पर्याप्त एलपी ग्यास बिक्री-वितरण गर्न विक्रेताहरूलाई निर्देशन दिइएको छ।

बैठकले विद्यार्थी, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम तथा विपन्न वर्गलाई प्राथमिकता दिई आवश्यकताअनुसार ग्यास बिक्री गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ।

त्यस्तै, व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास प्रयोग गर्ने व्यवसायीहरूले आफ्नो आवश्यकताअनुसार ग्यास सिलिन्डर सम्बन्धित डिलर वा उद्योगसँग समन्वय गरी अन्य उद्योगबाट ग्यास रिफिल गरेर ल्याउने व्यवस्था मिलाउनुपर्ने निर्णय गरिएको छ।

उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन ग्यास विक्रेताहरूको तर्फबाट समेत आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ।

 

सिफारिस