
काठमाडौँ । सिराहाको औरही गाउँपालिकामा सञ्चालित ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’मा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारले औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाएको हो।
अख्तियारले उनीहरू चारै जनासँग जनही ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो मागदाबी गरेको छ।
आर्थिक वर्ष २०७८र७९ मा माछापालनका लागि सञ्चालन गरिएको उक्त कार्यक्रममा कामै नगरी वा तोकिएको मापदण्ड पूरा नगरी झुट्टा बिल तथा भरपाई बनाएर रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
गाउँपालिका र प्रगतिशील कृषक समूहबीच १५ लाख रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार माछाका भुरा, दाना, चना तथा कृषि सामग्री वितरण गर्नुपर्ने भए पनि ती सामग्री वितरण नगरी काम सम्पन्न भएको देखाएर ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारको ठहर छ।