कमाण्डर गुमाउँदा पनि रोकिएन सशस्त्र प्रहरीको उद्धार अभियान, टिमुरेमा ९८ शव संकलन

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहित १३ जना सशस्त्र प्रहरी कर्मचारीलाई बेपत्ता बनाए पनि सशस्त्र प्रहरीको खोज तथा उद्धार अभियान रोकिएको छैन ।

भदौ १० गते बिहान आएको बाढीमा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट (बीओपी) टिमुरेमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित ९ जना तथा त्रिशूली जलविद्युत आयोजना सुरक्षा बेस, मैलुङमा कार्यरत ४ जना गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएको सूचना अधिकारीसमेत रहेका डिएसपी शैलेन्द्र थापाले बताए ।

ड्युटीमा निस्किएका कमाण्डर खत्री र दोस्रो कमाण्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपानेसहितको टोली बेपत्ता भएपछि सशस्त्र प्रहरी सहायक निरीक्षक तामबहादुर थापा मगरले तत्काल कमाण्ड सम्हालेका थिए । उनले बाँकी सुरक्षाकर्मीलाई सुरक्षित राख्दै उद्धार तथा सुरक्षाको जिम्मेवारी निरन्तर अघि बढाएका थिए।

बेपत्ता सशस्त्र प्रहरीमध्ये जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको छ भने अन्य कर्मचारी अझै सम्पर्कविहीन छन्।

डिएसपी थापाका अनुसार बाढीपछि विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा टिमुरेमा रहेको सशस्त्र प्रहरीको टोली करिब २४ घण्टासम्म प्रधान कार्यालयसँग समेत सम्पर्कविहीन भएको थियो । सरकारी कार्यालय तथा संरचनाहरू बाढीले बगाएपछि टिमुरे क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी मात्रै बाँकी रहेको अवस्थामा समेत सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी छाडेनन् ।

भदौ ११ गते धुन्चेबाट सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा थप टोली टिमुरे क्षेत्रमा पठाइएको थियो। त्यसयता सशस्त्र प्रहरीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा खोज तथा उद्धारलाई तीव्र बनाएको छ । हालसम्म उक्त क्षेत्रमा बेपत्ता भएका ९८ जनाको शव फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धारका क्रममा सशस्त्र प्रहरी टोलीले बाढी आएको करिब ६० घण्टापछि टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकालाई जीवितै उद्धार गरेको थियो। माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि सुरक्षाकर्मीले तत्काल उत्खनन गरी उनको उद्धार गरेका डिएसपी थापाले बताए ।

बाढी र पहिरोका कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्डसहित मुख्य सडकका ४१ भन्दा बढी पुल बगेका छन् । विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुनुका साथै भौगोलिक विकटताका कारण प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारमा थप चुनौती देखिएको छ। बाढी प्रभावित क्षेत्रमा धेरै घर तथा सरकारी संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीले ४ हजार २ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ। धादिङको मलेखु र गल्छी, नुवाकोटको देविघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो-३ए, त्रिशूली हाइड्रो-३बी, स्याफ्रुबेँसी र बोगटिटार क्षेत्रमा गरी विभिन्न बेस स्थापना गरेर उद्धार कार्यलाई तीव्रता दिइएको छ।

उद्धारमा विपद् व्यवस्थापन तालिम प्राप्त करिब ५ सय, सीएसएसआर ७०, रोप रेस्क्यु ७०, गोताखोर ३०, उच्च पर्वतीय उद्धार टोली, शव व्यवस्थापन टोली, ड्रोन, के-९ तथा मेडिकल टिमसहित विशेष तालिम प्राप्त जनशक्ति परिचालन गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार विशेष टोलीअन्तर्गत के(९ टोलीले १२, ड्रोन टोलीले १९ तथा स्वीफ्ट वाटर रेस्क्यु टोलीले १२३ शव फेला पारेका छन्। टिमुरे बीओपीले मात्रै अन्य सुरक्षा निकायसँगको संयुक्त प्रयासमा टिमुरे क्षेत्रबाट ९८ शव संकलन गरेको जनाएको छ।

विपद्का बेला आफ्नै सहकर्मी र कमाण्डर गुमाए पनि सशस्त्र प्रहरीको खोज, उद्धार तथा सुरक्षा अभियान भने निरन्तर अघि बढिरहेको छ। यसअघि भूकम्प, कोरोना महामारी, सिमलताललगायतका विपद् तथा दुर्घटनामा परिचालन भएका विशेष उद्धार जनशक्तिलाई समेत अहिलेको बाढी प्रभावित क्षेत्रमा खटाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस