देश विपत्तिमा, गौर भन्सार प्रमुख गोवा भ्रमणमा-उठ्यो पदीय जिम्मेवारीमाथि प्रश्न

दियोपोस्ट संवाददाता

रौतहट । भोटेकोशी बाढी पछि देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला सरकारी संयन्त्र उद्धार तथा राहतमा परिचालित छन् । प्रभावित क्षेत्रमा नागरिकको जनजीवन अस्तव्यस्त छ । यही समयमा गौर भन्सार कार्यालयका प्रमुख विकास रजक भने भारतको गोवा भ्रमण सकेर बिहीबार नेपाल फर्किएको विषयले उनको आलोचना सुरु भएको छ ।

रजकसँगै गौर भन्सार कार्यालयका दुई नायब सुब्बासहित चार सदस्यीय टोली गोवा पुगेको स्रोतको दाबी छ । स्रोतका अनुसार टोलीमा नायब सुब्बा विकास घिमिरे, जगदीश साह र रौतहट उद्योग वाणिज्य संघका एक प्रतिनिधिसमेत थिए ।

टोली भदौ १२ गते शुक्रबार भारतको गोवातर्फ गएको र बिहीबार नेपाल फर्किएको बताइएको छ । देश प्राकृतिक विपत्तिसँग जुधिरहेका बेला संवेदनशील सरकारी कार्यालयका प्रमुखसहित कर्मचारी विदेश भ्रमणमा गएको विषयले उनीहरूको पदीय जिम्मेवारीमाथि प्रश्न उठाएको छ । विशेषगरी राजस्व संकलनसँग प्रत्यक्ष जोडिएको भन्सार कार्यालयको नेतृत्वमा रहेका अधिकारीको विदेश भ्रमणले थप चासो जन्माएको हो ।

गोवा भ्रमणबारे जिज्ञासा राख्दा भन्सार प्रमुख रजकले आफू भ्रमणमा गएको स्वीकार गरेका छन् । उनले आफू भदौ ७ गतेदेखि नै घरबिदामा रहेको बताए । ‘म भदौ ७ गतेदेखि नै बिदामा छु,’ रजकले भने ।

तर देश विपत्तिमा डुवेका बेला स्वीकृत बिदामा रहेका सरकारी अधिकारीको जिम्मेवारी र संवेदनशीलताबारे प्रश्न उठेको छ । व्यक्तिगत बिदा स्वीकृत भइसकेको अवस्थामा पनि विपत्तिको गम्भीरता हेरेर निर्णय लिनुपर्ने हो वा पूर्वस्वीकृत बिदाका आधारमा सार्वजनिक जिम्मेवारीबाट अलग रहन मिल्ने हो भन्ने प्रश्न अहिले उठेको छ ।

यस विषयमा भन्सार विभागका सूचना अधिकारी तथा निर्देशक किशोर बर्तौलासँग जिज्ञासा राख्दा उनले बिदामा रहेका कर्मचारीले के गर्छन् र कहाँ जान्छन् भन्ने विषयमा आफूले जवाफ नदिने बताए ।

यता, गौर भन्सार कार्यालयका सूचना अधिकारी कमल नेपालीले भने दुई नायब सुब्बा भारत गएको आफूलाई जानकारी भए पनि उनीहरू गोवासम्म पुगेको जानकारी नभएको बताए ।

‘जाँच्न भनेर सुब्बा साहेबहरू इन्डिया बिदा लिएर गएका थिए। गोवा नै जानुहुन्छ भन्ने मलाई लागेको थिएन,’ नेपालीले भने ।

उनका अनुसार भन्सार प्रमुख रजक पनि भ्रमण सकेर नेपाल फर्किरहेको जानकारी कार्यालयमा आएको थियो । कार्यालयका एक कर्मचारीले ‘चिफ सर फर्किंदै हुनुहुन्छ’ भनेर जानकारी दिएको नेपालीले बताए ।

रजकसँग भ्रमणको उद्देश्य, टोलीको संरचना तथा बिदासम्बन्धी थप प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि कुराकानी हुन सकेन । नेपालीका अनुसार रजकको ह्वाट्सएपमा आफूले ‘नमस्कार’ लेखे पनि त्यसको जवाफ आएको थिएन ।

स्वीकृत बिदामा रहेका कर्मचारीको व्यक्तिगत भ्रमणलाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय एउटा पाटो हो । तर विपत्तिको समयमा सार्वजनिक पदमा रहेका अधिकारीको नैतिक तथा पदीय जिम्मेवारी अर्को महत्वपूर्ण प्रश्न हो ।

विशेषगरी जिल्ला तहमा रहेका सरकारी कार्यालय प्रमुखहरू स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य सरकारी संयन्त्रसँग समन्वय गर्दै सेवा प्रवाहमा सक्रिय हुनुपर्ने अपेक्षा गरिन्छ ।

त्यसैले विपत्तिको समयमा संवेदनशील सरकारी कार्यालयको नेतृत्व विदेशमा रहनुले कानुनी प्रश्नभन्दा पर सार्वजनिक उत्तरदायित्वको प्रश्नसमेत उठाएको छ ।

प्राकृतिक विपत्तिले आफ्नै देशका नागरिक प्रभावित भइरहेका बेला राज्यका संयन्त्रले नागरिकलाई भरोसा दिलाउनुपर्नेमा उल्टै राज्य कोषबाट खर्च गरि भ्रमण गर्नुले उनको पदीय नैतिकता प्रति प्रश्न उठाएको छ ।

सम्बन्धित खबर

सिफारिस