
काठमाडौँ । रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्मानस्वरूप घटना भएको १३औँ दिनको पुण्यतिथिको अवसर पारेर सरकारले राष्ट्रिय शोक मनाउन लागेको हो।
राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
त्यस्तै, सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अघिल्लो वर्ष भदौ २३ र २४ गते ‘जेनजी शहीद दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको थियो।